दमक, ११ जेठ–नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी ताप्लेजुङको ११औं अधिवेशनले दुर्गाहाङ सिरेङ चोङबाङलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ । चोङ्बाङ मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष हुनुहुन्छ ।
युवा नेता चोङबाङको अध्यक्षतामा ४५ सदस्यीय एकीकृत समाजवादी जिल्ला कमिटी ताप्लेजुङ पुनर्गठन गरिएको हो । सो कमिटीका उपाध्यक्षद्धयमा रामचन्द्र (आरसी) पोमु, देबिमाया नेपाली, सचिवमा मोहन न्यौपाने, उपसचिवत्रयमा बादल गुरुङ, अमर लोहार र गणेश राई सर्वसम्मत निर्वाचित हुनुभएको छ । सचिवमा निर्वाचित मोहन न्यौपाने, फुङलिङ नगरपालिका वार्ड नम्बर २ का वडाअध्यक्ष हुनुहुन्छ ।
जेठ ९ र १० गते ताप्लेजुङ सदरमुकाममा सम्पन्न ११औं जिल्ला अधिवेशनको केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डले उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा जिल्लाका पुराना र अग्रज बामपन्थी नेताहरुलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित अभिनन्दनन् गरिएको थियो ।
उद्घाटन समारोहमा पार्टी केन्द्रीय सचिव बलदेब चौधरी, प्रदेश कमिटी अध्यक्ष सरिता थापा खड्का, पोलिट्व्यूरो सदस्य महेश रेग्मी लगायतका दर्जनौ नेताहरुले नेपालमा कम्युनिष्ट आन्दोलन, कार्यदिशा, गन्तव्य, उदेश्य, सर्घष, एकीकरण र बिद्रोहका बारेमा आ–आफ्ना बिचारहरु व्यक्त गर्नुभएको थियो ।
