कमल (केर्खा), १६ असोज–झापाको कमल गाउँपालिकामा एक दिने कर शिक्षा सम्बन्धी तालिम सम्पन्न भएको छ ।

कमल उद्योग वाणिज्य संघको आयोजना तथा आन्तरिक राजस्व कार्यालय दमकको प्राविधिक सहयोगमा गाउँपालिकाको वडा नम्बर ३ केर्खास्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा तालिम सम्पन्न भएको हो ।

पहिलो चरणमा गाउँपालिकाको तत्कालिन तोपगाछी खण्डका व्यवसायी तथा उद्योगीलाई लक्षित गर्दै एकदिने कर शिक्षा सम्बन्धी तालिम सञ्चालन गरिएको संघले जनाएको छ ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय दमकका प्रमुख सूर्यबहादुर कुँवरले व्यवसाय सञ्चालन गर्दा कर सम्बन्धी कानुनी प्रावधान, करदाता दर्ता, कर विवरण बुझाउने प्रक्रिया तथा कर प्रणालीमा देखिएका व्यवहारिक विषयबारे जानकारी गराउनु भएको थियो । उहाँले व्यवसायीले करलाई दायित्वका रूपमा मात्र नभई राज्य सञ्चालनको महत्वपूर्ण आधारका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका उपाध्यक्ष प्रमिला तिवारी न्यौपानेले स्थानीय तहमा व्यवसाय प्रवद्र्धन र आर्थिक गतिविधि विस्तारका लागि व्यवसायीलाई कर सम्बन्धी स्पष्ट जानकारी आवश्यक रहेको बताउनु भयो । त्यसैगरी उहाँले स्थानीय सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउँदै उद्यम तथा व्यवसाय मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कमल उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र अधिकारीले कर शिक्षा सम्बन्धी तालिमले व्यवसायीमा कर सम्बन्धी ज्ञान र व्यवहारिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले व्यवसायीका समस्या समाधानका लागि संघले सम्बन्धित निकायसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

तालिममा समभागी व्यवसायी तथा उद्योगीलाई कर अधिकृत प्रेमप्रकाश मण्डलले व्यवसाय दर्ता, कर सम्बन्धी प्रक्रिया, विवरण पेस गर्ने तरिका तथा व्यवसाय सञ्चालनमा आवश्यक कर अनुशासनबारे सहभागीलाई जानकारी गराउनु भएको थियो ।

संघका संस्थापक अध्यक्ष उमानाथ भण्डारीले कार्यक्रमको स्वागत गर्दै तालिमको उद्देश्य व्यवसायीलाई कर सम्बन्धी आधारभूत तथा व्यवहारिक ज्ञान प्रदान गर्नु रहेको बताउनुभयो । त्यस्तै उहाँले कर प्रणालीबारे पर्याप्त जानकारीको अभावका कारण व्यवसायीले अनावश्यक झन्झट तथा समस्या व्यहोर्नुपर्ने अवस्था रहेकाले यस्ता कार्यक्रम नियमित हुनुपर्ने धारणा समेत राख्नुभयो ।

कार्यक्रममा कमल ३ का वडाध्यक्ष अग्निप्रसाद कोइराला, प्याब्सन कोशी प्रदेश सचिव गौरीमान फागोले वर्तमान कर सम्बन्धी कानुनी प्रावधान झन्झटिलो भएकाले त्यसैलाई सहज बनाउनु पर्नेमा कार्यलयलाई सुझाव दिनु भएको थियो ।

कार्यक्रमको सञ्चालन संघका सदस्य रिजु कार्कीले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *