झापा, ११ जेठ–नेकपा (एकीकृत समाजबादी) झापाले २०७८ देखि २०८१ चैत मसान्तसम्मको आर्थिक कारोबावारका विबरणहरु जिल्ला निर्वाचन कार्यालयलाई बुझmाएको छ ।
भद्रपुरस्थित जिल्ला निर्वाचन कार्यालय झापामा आज (आइतबार) एकीकृत समाजवादी झापाले पार्टी स्थापना भएको २०७८ सालदेखि २०८१ चैत मसान्तसम्म तीन वर्षको हिसाब बुझाएको हो । एकीकृत समाजवादी झापाका अध्यक्ष वीपी भट्टराईको नेतृत्वको एक टोली निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपाललाई आर्थिक कारोबारका सम्पूर्ण विबरणहरु बुझाएका हुन् ।
एकीकृत समाजवादी झापा गठन भएको २०७८ देखि २०८१ चैत मसान्तसम्मको तीन वर्ष अवधिमा कारोबार भएको रु २५ लाख छ हजार ६ सय १५ को बिबरणसहित हिसाव बुझाइएको अध्यक्ष भट्टराईले बताउनुभयो । सो बिवरणमा बैंक खातामा नगद मौज्दात रु ६ हजार उल्लेख गरिएको छ ।
अध्यक्ष भट्टराईका अनुसार पार्टी केन्द्रीय सदस्य एबम् जिल्ला सहइन्चार्ज नीलमणी बराल, भद्रपुर नगरपालिकाकी पूर्व उपप्रमुख तथा केन्द्रीय सदस्य चन्द्रा श्रेष्ठसहित झापा उपाध्यक्ष सरस्वती लिम्बु, सचिव सानुकुमार लामा, उपसचिवद्वय उदय बराइली र श्रीप्रसाद मिश्र, लक्ष्मण खतिवडा लगायतको टोली निर्वाचन कार्यालय पुगेका थिए ।
एकीकृत समाजबादी झापाले पार्टीको हिसाव आफै बुझाउन आएकोमा निर्वाचन कार्यालयका कर्मचारीहरु समेतले खुशी प्रकट गरेका छन् । “राजनीतिक दलहरु कार्यालयबाट पत्र काटेपछि मात्र हिसाब बुझाउन आउँथे,” निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालको भनाई उद्धृत गर्दै पार्टीका अध्यक्ष भट्टराईले भन्नुभयो–“तपाईहरु त आफै आउनुभयो भनेर कार्यालयका प्रमुखले भन्नुभयो ।”
झापामा मात्र नभएर देशभरिमै स्वस्फूर्त हिसाब बुझाउने राजनीतिक दलमा एकीकृत समाजबादी पहिलो पार्टी भएको अध्यक्ष भट्टराईको दावी छ । उहाँ भन्नुहुन्छ–“अरुहरु सुशासनका भाषण र गफ गर्छन्, हामी काम गरेरै देखाउँछौं । निर्वाचन कार्यालयमा दलको हिसाब दुरुस्त बुझाउनेमा हाम्रो पार्टी पहिलो हो ।”
एकीकृत समाजवादी पार्टीले सुशासन र पारदर्शिताको पाटोलाई नभुल्ने अध्यक्ष भट्टराईको भनाई छ । राजनीतिक दलहरु हिसाब किताबमा पारदर्शी नहुँदा प्रश्न उठ्ने गरेको हुँदा अब अरु राजनीतिक दललाई पनि पारदर्शी बन्नु दवाव पुग्ने अध्यक्ष भट्टराईले बताउनुभयो ।
