काठमाडौं, २९ जेठ–नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा मतदान जारी छ।
सहमतिमा नेतृत्व चयन नभएपछि आज (बिहिबार) बिहानबाट मतदान सुरु भएको प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले जानकारी दिए। निर्वाचन समितिका अनुसार ४३ वटा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान हुनेछ।
कीर्तिपुरमा जारी महाधिवेशनमा उम्मेदवारहरू मतदातासँग मत मागिरहेका छन्। महाधिवेशनमा अखिलको अध्यक्ष पदका लागि प्रकाश पौडेर र डा.सुजन कडरियाबीच प्रतिस्पर्धा हुने भएको छ।महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दाबी गरे पनि अध्यक्ष मण्डलले कडरिया अध्यक्ष, प्रकाश पौडेल र अञ्जना शिवाकोटी उपाध्यक्ष र दीपक धामीलाई महासचिव प्रस्ताव गरिएको थियो । तर, प्रस्ताव हुनासाथ हलमा निर्वाचनको माग राखेर नाराबाजी भएपनि निर्वाचनको प्रक्रिया अगाडि बढाइएको हो।
सुरुमा विरोध गरेपनि धामीले अध्यक्षमण्डलको प्रस्ताव अनुसार महासचिवमा उम्मेदवारी दिएर कडेरियालाई समर्थन गरेका छन् । डा। कडरिया महाधिवेशन प्रतिनिधि बनेकै समयमा केन्द्रीय सचिव बनेका थिए। कडरिया मेडिकल क्षेत्रका व्यक्ति हुन्। उनी आफूलाई फरक क्षेत्रबाट प्रतिनिधित्व गरेर विद्यार्थी आन्दोलनमा सहभागी भएकाले नेतृत्व पाउँदा विद्यार्थीमा बेग्लै उभार ल्याउने दाबी गर्छन्।
‘महाधिवेशनलाई सद्भाव, एकता र संघर्षको ऊर्जा बनाऔं । नयाँ युग हाम्रो हातमा छ१ न कसैप्रति गुनासो छ, केबल असल मान्छे बन्न मेहनत गर्दैछु’ कडेरियाले भने।
पौडेलले २०६७ सालको जनकपुर महाधिवेशनबाट प्रतिनिधिका रूपमा अनेरास्ववियु यात्रा सुरु गरेका थिए। उनी म्याग्दी जिल्ला अध्यक्षदेखि गण्डकी प्रदेश अध्यक्ष बनेका उनी हाल केन्द्रीय सचिव हुन् । एमालेको सचिवालय बैठकले अखिलको नेतृत्वमा ३२ वर्षको उमेरहदको सीमा लगाएपछि अहिलेका अध्यक्ष, उपाध्यक्ष र महासचिवहरू प्रतिस्पर्धाबाट रिङ आउट भएपछि सचिवहरु प्रतिस्पर्धामा उत्रिएका हुन्।
खुल्ला उपाध्यक्षमा गणेशबहादुर साही, भरतसिंह धामी लिपुलेक, राजकुमार ढकाल र विकास श्रेष्ठ, महिला उपाध्यक्षमा अञ्जना शिवाकोटी, आरती भट्टराई, भवानी बजगाईँ र सुजिता धितालको उम्मेदवारी परेको छ । महासचिवमा आरके रोमस, दीपक धामी, र सुनिल कँडेलको उम्मेदवारी परेको छ। उपमहासचिवमा अमरबहादुर शाही, कमल जोशी र प्रेमिका शाहीको उम्मेदवारी परेको छ।
सचिवको लागि ३५ जनाले उम्मेदवारी दिएका छन्। महाधिवेशनमा १,५३४ प्रतिनिधि छन्। मतदानपश्चात आजै नतिजा आउने बताइएको ।
