दमक, ९ असार–भुटानी शरणार्थीका नाममा ठूलो संख्यामा नेपालीलाई ठगी गरेको घटनाप्रति नेकपा (एकीकृत समाजवादी) झापाले सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।
दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा आज (सोमबार) एकीकृत समाजवादी क्षेत्र नम्बर ५ का उपलब्ध नेताहरुको भेलाले नक्कली भुटानी शरणार्थी प्रकरण बारेमा सरकारको गम्भिर ध्यानाकर्षण गराएको हो ।
एकीकृत समाजवादी दमक नगर कमिटीका अध्यक्ष तथा क्षेत्र नम्बर ५ का संयोजक हरिप्रसाद नेपालको अध्यक्षतामा र जिल्ला कमिटी झापाका अध्यक्ष बीपि भट्टराईको उपस्थितिमा सो भेला सम्पन्न भएको हो ।
सो भेलाले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी परिचयपत्र बनाएर ठगी कार्य गरेको, त्यस प्रकरणमाथि थप अध्ययन र अनुसन्धान गरेर दोषीमाथी कार्वाही गर्न एकीकृत समाजवादी झापाले जोडदार माग गरेको जिल्ला कमिटी उपसचिव होमबहादुर बरालले जानकारी दिनुभयो ।
त्यस्तैं, एकीकृत समाजवादी झापाले सक्तारुढ दलका नेताहरु, मन्त्री, पूर्वमन्त्री भएकै कारण भुटानी शरणार्थीप्रकरणमा मुछिएकाहरुमाथि अनुसन्धान हुनुपर्ने अध्यक्ष भट्टराईले बताउनुभयो ।
अध्यक्ष भट्राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान गर्न राजनीतिक आग्रह र पूर्वाग्रहमा काम गर्न नहुने बताउनुभयो ।
भट्टराईले गैर भुटानी शरणार्थीलाई ठगी गरेको स्वीकार गरेकाहरुको बयानसहितको प्रतिवेदनमा कांग्रेस–एमालेका ठूला नेताहरुको नाम जोडिएका छन् तर उनीहरुलाई अख्तियारले कार्वाही गर्न नसक्नुमा खेद प्रकट गर्नुभयो ।
अध्यक्ष भट्टराईले शक्ति र पहुँचकै आधारमा ठूला नेताहरुले उन्मुक्ति पाउने अवस्था भएमा एकीकृत समाजवादीले आन्दोलनका कार्यक्रमहरु मार्फत सडकमा आउने चेतावनी दिनुभयो ।
सो अवसरमा जिल्ला कमिटी उपसचिव श्री मिश्र, उपसचिव होमबहादुर बराल, समाजवादी प्रेष संगठन नेपालका केन्द्रीय सदस्य तथा एकीकृत समाववादी झापाका प्रचार विभाग प्रमुख अनिलदेब राई, जिल्ला कमिटी सदस्यहरु लक्षमण खतिवडा, पदम कट्टेल, तीर्थ नेपाल लगायतले आ–आफ्ना बिचारहरु राखेका थिए । त्यस्तैं, सोही भेलामा दमक, कमल, गौरादह र गौरिगञ्जको पालिका स्तरीय अधिवेशन वा कमिटी पुनगर्ठनका लागि योजनासमेत बनाइएको छ ।
