दमक, ९ असार–दमक तेक्वान्दो डोजाङ र सर्वाोदय अंग्रेजी माध्यमिक विद्यालयको संयुक्त आयोजनामा एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न गरिएको छ ।
दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा आयोजना गरिएको दन्त शिविरमा दमक थुलुङ डेन्टल क्लिनिकका दन्त बिशेषज्ञहरुसहितको टोलीले प्राविधिक सहयोग पुर्याएका थिए ।
दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितबहादुर (जितु) धिमालका अनुसार एक दिने निशुल्क दन्त शिविरमा सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत डोजाङका खेलाडीहरु, अन्य विद्यार्थीहरु, डोजाङका प्रशिक्षक, अभिवाहक, शिक्षिक–शिक्षिकाहरुसहित पाँच सय बढीले सेवा लिएका थिए ।
शिविरमा दमक थुलुङ डेन्टल क्लिनिककी सञ्चालिका वरिष्ठ दन्त रोग विशेषज्ञ डाक्टर सोफिया थुलुङ, डाक्टर हाङमा माखिम लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले दाँतको परिक्षण गर्नुभएको थियो ।
सो शिविरमा दन्त परिक्षण गर्न आएका विद्यार्थीहरुका लागि दमक थुलुङ डेन्टल क्लिनिकद्धारा ब्रस र कोलगेटसमेत बितरण गरिएको थियो । क्लिनिकमा थप उपचारका लागि आउने दमक तेक्वान्दो डोजाङका खेलाडीहरु र सर्वोदयका विद्यार्थीहरुलाई विशेष आकर्षक छुटसहित उपचारको व्यवस्था मिलाइएको डाक्टर सोफिया थुलुङले बताउनुभयो ।
