रञ्जिता श्रेष्ठ

काठमाडौं, १४ साउन–नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाएको छ।  आज (बुधबार) बसेको राष्ट्रिय भेलाको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव सर्वसम्मत पारित गरेको नाउपा अनुशासन आयोगका अध्यक्ष रामलाल डगौरा थारूले जानकारी दिए।

‘उहाँलाई २४ घन्टे स्पष्टीकरण सोधिएको थियो। उहाँबाट चित्तबुझ्दो जबाफ आएन। फेरि उहाँले विधानविपरीत कार्य गर्नुभयो,’ डगौराले भने, ‘भेलामा उहाँलाई अध्यक्षबाट हटाउने प्रस्ताव आएको थियो। त्यो सर्वसम्मत पारित भयो।’

अध्यक्षबाट हटाइएकी श्रेष्ठ पोखराको लिची बगैंचा जग्गा प्रकरणमा मुछिएकी थिइन्। उनको अडिओसमेत सार्वजनिक भएको थियो। त्यहीबारे पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो।

उनले जबाफ दिइनन्। बरू वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष तोकेर हिँडेको भन्दै पार्टीमा असन्तुष्टि चुलिएको थियो। संरक्षक रेशम चौधरीले त्यसरी कार्यवाहक तोक्ने व्यवस्था विधानमा नरहेको भन्दै आपत्ति जनाएका थिए।

अब भोलि बस्ने बैठकले नयाँ अध्यक्ष तोक्ने डगौराले बताए।

उनका अनुसार अध्यक्षमा रेशमका बुवा लालवीर चौधरीको नाम पनि चर्चामा छ। उनी बर्दियाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पनि हुन्।

बर्दियाबाट नाउपा संरक्षक रेशमले पनि उम्मेदवारी दिएका थिए। उनको उम्मेदवारी खारेज गरेपछि पार्टीले स्वतन्त्र उठेका लालवीरलाई पार्टीले समर्थन गरेर चुनाव जिताएको थियो।

उनी नाउपाका संस्थापक भने होइनन्।

२०७८ पुसमा रेशम चौधरीले जेलभित्रै पार्टी दर्ता गरेका थिए। रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर दर्ता गरेको पार्टीमा २१ जना केन्द्रीय सदस्य थिए। उनीहरूमध्येबाटै अध्यक्ष बनाउनुपर्ने बाध्यता रहेको डगौराले बताए।

‘संस्थापक सदस्यबाटै अध्यक्ष तोक्छौं। भोलि क(कसको नाम प्रस्ताव हुन्छ, त्यही आधारमा भन्न सकिन्छ। अहिले चर्चामा रहेको नाममा चाहिँ कानुनी जटिलता देखियो,’ उनले भने।

बुधबारको भेलाले २०१ सदस्यीय नयाँ कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाउने निर्णय गरेको पनि उनले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *