मा दमक, १४ असोज–झापाको दमकमा भोली (बिहिबार) देखि कोशी प्रदेश जिल्ला स्तरीय भेट्रान फुटबल प्रतियोगिता हुदैछ ।
दमक भेट्रान फुटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा १२ वटा भेट्रान टोलीहरुले सहभागिता जनाउने भएका छन् । दमक–२ बेलडाँगी खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भएको दमक भेट्रान फुटबल क्लबका अध्यक्ष गजेन्द्र देवानले जानकारी दिए ।
बेलडाँगीस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा अनुमानित ७ लाख खर्च हुने क्लबका अध्यक्ष देवानले जानकारी दिए । प्रतियोगितामा हुने खर्च क्लबका पदाधिकारीहरु, क्लबका सदस्यहरु, खेलाडीहरु, शुभेच्छुकहरु र खेलप्रेमीहरुबाट सहयोग सङ्कलन गरिएको अध्यक्ष देवानले जानकारी दिए ।
प्रतियोगिता २ः३० बजेबाट खेल सुरु हुनेछ । विजेताले नगद १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
सो क्लबका सचिव वीरेन राईले प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगायत विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने छ ।
क्लबका अध्यक्ष देवानका अनुसार पछिल्लो समय खेलकुद गतिविधिमा कमी आएको अवस्थामा खेलाडीमा उत्साह र उत्प्रेरणा बढाउने तथा स्थानीयस्तरमा फुटबल खेलको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
आयोजक दमक भेट्रान फुटबल क्लबले प्रतियोगितालाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी तथा समन्वयलाई तीव्रता दिएको जनाएको छ।
