शेखर कोइराला

मोरङ, १४ साउन–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताएका छन्।

विराटनगर विमानस्थलमा आज (बुधबार) सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्ने गरी काम गर्नुपर्ने सुझाव दिए।

कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भए अनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पारे। नेता कोइरालाले भने, “राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ।”

उनले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राखे।

गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए। एक प्रश्नको जवाफमा नेता डा कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए।

एक फरक प्रसङ्गमा उनले कांग्रेसको महाधिवेशन तोकिएको समय विसं २०८२ मा हुने विचार राखे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *