इलाम, १९ असोज–लगातारको भीषण वर्षाले निम्त्याएको पहिरोले इलाममा ठूलो मानवीय क्षति भएको छ।

आज (आइतबार) बिहानसम्म पहिरोले कम्तीमा १८ जनाको ज्यान लिइसकेको प्रहरीले जनाएको छ।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले दिएको जानकारी अनुसार जिल्लाका विभिन्न स्थानमा खसेको पहिरोले कम्तीमा १८ जनाको ज्यान गएको छ।

‘विभिन्न ६ वटा ठाउँमा गएको पहिरो जाँदा कम्तिमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ,’ एसएसपी पोखरेलले भने।

इलामका सुर्योदय, देउमाई, माङसेवुङ, फाकफोकथुम र इलाम नगरपालिकामा पहिरोका कारण ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले जनाएको छ।

सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा खसेको पहिरोमा ५ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ।

त्यस्तै, माङसेवुङ गाउँपालिका–१ पाटीगाउँमा ३ जना, देउमाई नगरपालिका–५ धारेमा १ जना र सोही नगरपालिकाको धुसुनेमा २ जनाको मृत्यु भएको छ।

यस्तै, फाकफोकथुम गाउँपालिका–३ रातमाटेमा १ जनाको मृत्यु भएको छ भने इलाम नगरपालिका–५ घोसगाउँमा ६ जनाको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार अहिले पनि केही स्थानमा पहिरो खसेको खबर आइरहेको छ। उद्धार तथा राहत कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा खटिएका छन्।

लगातारको वर्षाका कारण इलामका अधिकांश ग्रामीण सडक अवरुद्ध छन् र जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

पहिरोमा परेर बेपत्ता संख्या बढन सक्ने प्रहरीको अनुमान छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *