झापा, २० असोज–शनिबार साँझबाट आएको बाढी र पहिरोबाट कोशी प्रदेशमा ४५ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयलाई उधृत गर्दै नेपालप्रेसका लागि सुमन पुरी लेख्छन्, बाढी र पहिरोबाट सबैभन्दा बढी इलाममा ३७ जनाको मृत्यु भएको छ । इलाममा १७ पुरुष र २० महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
इलामको सूर्योदय नगरपालिका १, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका ६, घोसमा ६ जनाको मृत्यु भएको छ । यस्तै देउमाई नगरपालिकामा ८ जनाको मृत्यु भएको छ ।
इलामकै माइजोगमाई गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । पहिरोमा परी सन्दकपुर गाउँपालिकामा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामको माङ्सेबुङ गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ भने फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको छ ।
पहिरोमा परि पाँचथरमा २ जना, उदयपुरमा २ जना झापामा २ जना खोटाङमा १ जना र मोरङमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार पहिरोले पुरेर र खोलाले बगाएर पाँचथरको तुम्वेवा र फाल्गुनन्द गाउँपालिकामा गरी २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुम्बेवा गाउँपालिका–४ ओलनेकी ७९ वर्षीय कान्छीमाया शेर्मा र फाल्गुनन्द गाउँपालिका ३ का १७ वर्षीय मिसेक नेम्वाङ रहेका छन् ।
शेर्माको घर माथिबाट आएको पहिरोले पुरेर मृत्यु भएको हो भने नेम्वाङको निबु खोलाले बगाउँदा मृत्यु भएको हो ।
प्रहरीका अनुसार पहिरोमा परि पाँचथरमा अन्य तीन जना घाइते भएका छन् । घाइते हुनेहरूमा मिक्लाजुङ–३ सोलुम्बाकी ३७ वर्षीय मनमाया कार्की, फाल्गुनन्द ५ जौवारीका ६६ वर्षीय धनबहादुर चेम्जोङ र फाल्गुनन्द–१ आलुवारीकी ७२ वर्षीय सुकमाया आङदेम्बे रहेका छन् ।
उदयपुरको बेलका–४ मा मदन भण्डारी राजमार्गको गाईघाट–चतरा खण्डमा खोलाको कजवे तर्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ ।
बा ४ ख १६२८ नम्बरको यात्रुवाहक हायस बाढीले बगाउँदा एक जनाको मृत्यु भएको हो । हायसमा २२ जना सवार थिए ।
त्यसमध्ये मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ३८ वर्षीय मञ्जु अधिकारीको बाढीले बगाएर मृत्यु भएको हो । अन्य २१ जनाको सकुशल उद्धार भएको छ । अर्का एक जनाको भने प्रहरीले नाम खुलाएको छैन ।
झापामा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका वडा नं। ४ कोटीहोममा माई खोलाको बीच भागको डिलमा घोप्टो परेको अवस्थामा एक शव फेला परेको छ ।
उक्त शवको पहिचान हुन सकेको छैन । शनिबार बाह्रदशी गाउँपालिका वडा नं। ४ मुन्सी कामत टोलका ६२ वर्षीय मंगलसिं मुर्मुको खोलाले बगाउँदा मृत्यु भएको छ । खोला तर्ने क्रममा मुर्मु चिप्लिएर लडेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण आएको भेलमा परेर विराटनगरमा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१६ स्थित सुगर मिल नजिकैको कलभर्ट छेउको खाल्डोमा पानीको भेलले बगाउँदा भारत घर भई सोही स्थानमा डेरा गरी बस्ने ३५ वर्षीय अनिता राउतको मृत्यु भएको हो ।
खोटाङमा खोलाले बगाएर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका सुमन विश्वकर्माको मृत्यु भएको छ । उनलाई रावा बेसी गाउँपालिकास्थित हौँचुर खोलाले बगाएको थियो ।
२१ वर्षीय विश्वकर्मा रावा बेसी गाउँपालिका–६ हौँचुरस्थित मावली घरमा दसैँको टिका लगाएर फर्किने क्रममा खोलाले बगाएको हो ।
कोशी प्रदेशमा बाढी र पहिरोका कारण १० हजारभन्दा बढी विस्थापित भएका छन् । उनीहरूलाई स्कुल तथा सार्वजनिक भवनमा राखिएको छ । विस्थापित भएकाहरू केही आफन्त र छिमेकीको शरणमा समेत रहेको प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले बताए ।
