काठमाडौं, २१ असोज–फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्ने मिति तोकिएको छ। निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै उक्त मिति तोकेको हो।

कार्यतालिकाअनुसार मंसिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ।

जेन–जी आन्दोलनको बलमा प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचन घोषणा गरेकी थिइन्।

यो निर्वाचनमा पुराना दलहरूसँग प्रतिस्पर्धा गर्न धेरै नयाँ राजनीतिक दलहरू निर्माण हुने अपेक्षा गरिएको छ। खासगरी नयाँ शक्तिका रूपमा उदाएका जेन–जी युवाहरूको समूहले नयाँ दल गठन गरी चुनावमा भाग लिने चर्चा छ।

उनीहरू सबैले मंसिर १ देखि १० गतेसम्म दल दर्ता गरिसक्नुपर्नेछ।

कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

उनका अनुसार फागुन ३ देखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार हुनेछ भने फागुन १८ देखि प्रचारप्रसार निषेध अवधि लागू हुनेछ।

त्यस्तै, निर्वाचनको दिन फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ र मतपेटिका संकलनपछि मतगणना सुरू गरिनेछ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *