दमक, २८ असोज–झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसले विभिन्न कार्यक्रम गरि १४औं क्याम्पस सभा सम्पन्न गरेको छ ।
क्याम्पस सभाले क्याम्पसमा सञ्चालन हुने महत्वपूर्ण योजनाहरुसहितको प्रस्ताव पारित गरेको छ । झण्डै ३१ करोड रुपैयाँ बराबरको बार्षिक बजेट कार्यक्रम पनि सभाले पारित गरेको छ ।
सभामा क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज भण्डारीले क्याम्पसको स्थापना इतिहासदेखि वर्तमान सम्मको अवस्था र भावी योजनाहरु प्रस्तुत गरे ।
क्याम्पसमा यसै बर्ष महिला छात्रावास र यातायात सञ्चालनमा ल्याइने र सोका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको पनि सभामा अध्यक्ष भण्डारीले जानकारी दिए ।
क्याम्पस सभाको पूर्व क्याम्पस प्रमुख तथा शैक्षिक व्यक्तित्व मोहन भण्डारीले गरेका थिए । सभामा क्याम्पस प्रमुख राम गिरीले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसका लक्ष्य र चुनौतीहरुका बिषयमा अवगत गराएका थिए । उनले प्रतिवेदन मार्फत क्याम्पसको आम्दानी खर्चको विवरण समेत सार्वजनिक गरे ।
सभामा क्याम्पसका लेखा समिति संयोजक कूलबहादुर बस्नेतले क्याम्पसमा आर्थिक पारदर्शीताका लागि लेखा प्रणालीलाई प्रविधिको उच्च सदुपयोग गर्दै व्यवस्थित गर्ने क्रममा अघि बढिएको जानकारी गराएका थिए । लेखा प्रणालीका बिषयमा समितिका तर्फबाट उनले क्याम्पस सञ्चालक समिति र प्रशासनलाई आवश्यक राय सुझाव समेत प्रस्तुत गरे ।
शैक्षिक बिकासमा आफूलाई उत्कृष्ट गन्तव्यको रुपमा बिकास गर्दै लगेको यो क्याम्पसका ३ जना प्राध्यापकहरुले बिद्यावारिधी हासिल गरेका तीन जनाले एम्फील उपाधि प्राप्त गरेका छन भने १० जना पिएचडी अध्ययनरत र ३ एम्फील अध्ययनरत रहेको क्याम्पस प्रमुख गिरीले जानकारी दिए ।
विश्व बिद्यालय अनुदान आयोगको छनोटमा परेका देशभरका ७ वटा क्याम्पस मध्ये अग्रड िलिड क्याम्पसका रुपमा दमक बहुमुखी क्याम्पस चयन भई गत असारमा कोशी प्रदेशका ३० जना प्राध्यापकहरुको व्यवसायिक बिकास कार्यक्रम सम्पन्न गरिएको उल्लेख गरिएको छ ।
संघीय सरकारको ३ करोड रुपैयाँको अनुदानमा सुविधा सम्पन्न प्रशासनिक तथा छात्रावास भवन निर्माण कार्य शुरु गरिएको , बीबीए भवनमाथि विश्व बिद्यालय अनुदान आयोगको १ करोड अनुदानमा संरचना निर्माण भइरहेको र हालसम्म सो योजनाका लागि ५७ लाख रुपैयाँ प्राप्त भइसकेको, प्रदेश सरकारको ३ करोड अनुदानमा सुविधा सम्पन्न पुस्तकालय निर्माणका लागि सम्झौता भइ डीपिआर निर्माणको प्रकृया अघि बढेको क्याम्पसद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
यसैगरि, क्याम्पसमा आइसिटी सिस्टम, नेटवर्क र डिजिटल व्यवस्थापन, आधुनिक प्रयोगशाला सामग्रीको व्यवस्थापन लगायतका कामहरु २०८२ चैतदेखि २०८३ बैशाख मसान्त सम्ममा सम्पन्न गर्ने गरी सम्झौता भइसकेको क्याम्पस प्रमुख गिरीले जानकारी दिए । गुणस्तर प्रमाणीकरण हासिल गरेको सो क्याम्पस हाल करिब ५ हजार हाराहारीमा बिद्यार्थीहरु अध्यययनरत रहेका र ६८ जना अध्यापक र २५ जना कर्मचारी कार्यरत रहेको जनाइएको छ ।
सभा उदघाटन कार्यक्रममा प्रदेशसभा सदस्य नम्बरलाल धिमाल, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, दमक–७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, क्याम्पसका पूर्व अध्यक्ष देवीप्रसाद दाहाल, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी, पूर्व क्याम्पस प्रमुख उत्तमप्रसाद भट्टराई लगायतले शुभकामना मन्तव्य राख्दै समुदायको सक्रियतामा सञ्चालित यो क्याम्पस यस क्षेत्रका लागि गौरवको बिषय भएको चर्चा गरेका थिए ।
