काठमाडौं, १९ माघ–पूर्वमन्त्री तथा संविधानसभा सदस्य जितेन्द्र देवले नेकपा (एमाले) परित्याग गरेको औपचारिक घोषणा गरेका छन्। उनले सार्वजनिक रूपमा जारी गरेको लिखित वक्तव्यमार्फत अब आफू एमालेसँग कुनै राजनीतिक सम्बन्धमा नरहेको स्पष्ट पारेका हुन्।
वक्तव्यमार्फत देवले पार्टीभित्र पछिल्लो समय बढ्दै गएको नेतृत्वकेन्द्रित सोच, व्यक्तिविशेषको अतिरञ्जित प्रशंसा, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव तथा व्यवहारगत विभेदप्रति गम्भीर असन्तुष्टि जनाएका छन्। यस्ता प्रवृत्तिहरू लोकतान्त्रिक मूल्य–मान्यतासँग मेल नखाने ठहर गर्दै उनले पार्टी छाड्ने निर्णय गरेको उल्लेख गरेका छन्।
देवको राजनीतिक यात्रा विभिन्न मोड हुँदै आएको छ। प्रारम्भमा एमालेबाट सक्रिय राजनीतिमा प्रवेश गरेका उनी पछि विजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) मा आवद्ध भएका थिए। सोही दलबाट उनी संविधानसभा सदस्य निर्वाचित भएका थिए।
मधेशी जनअधिकार फोरम ९लोकतान्त्रिक० नेपाली कांग्रेसमा विलय भएपछि देव पनि कांग्रेसमा समाहित भए। कांग्रेसको तर्फबाट उनले राष्ट्रिय सभा सदस्यको रूपमा समेत भूमिका निर्वाह गरेका थिए। उनको राष्ट्रिय सभाको कार्यकाल २० फागुन २०८० मा समाप्त भएको थियो।
त्यसपछि १७ असार २०८१ मा देव पुनः एमाले फर्किएका थिए। तर, पार्टीमा फर्किएको केही महिनामै उनले पुनः एमालेसँगको सम्बन्ध तोड्दै अलग हुने निर्णय सार्वजनिक गरेका हुन्।

