काठमाडौँ, २० माघ–नेपाली कांग्रेसका नेता र राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटौलाले संघीयता लागू गर्दा संघीय सरकारले उचित काम नगरेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा आयोजित राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा सिटौलाले कुनै पनि दलको नेतृत्वमा बनेको सरकार संघीयता अनुसार काम गर्न नसकेको जिकिर गरे ।
उनका अनुसार, ‘अहिले प्रदेश र स्थानीय तहका सरकारहरू केन्द्रको मातहतको जस्तो देखिएका छन्।’
सिटौलाले संघीयता लागू गर्दा प्रदेशहरूले आफ्नो अधिकारको प्रयोग गर्न सकेको छैन र संविधानले सुनिश्चित गरेको अधिकार बाँडफाँटमा समस्या रहेको धारणा व्यक्त गरे ।
सिटौलाले भने, ‘कतिपय ठाउँमा प्रदेश सरकारले भन्दा स्थानीय सरकारले राम्रो काम गरेको देखिएको छ।’
उनले संघीयता कार्यान्वयनका बारेमा प्रतिनिधि सभा र राष्ट्रिय सभाले मिलेर साझा दृष्टिकोण तयार गर्नुपर्ने आवश्यकता औंल्याए।
बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समीक्षा र मस्यौदा प्रतिवेदनमाथि पनि छलफल भएको थियो।

