महामन्त्री विश्वप्रकाश शर्मा

दमक, २० माघ–नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र न। ५ मा कांग्रेसलाई पराजित गर्ने कुनै शक्ति नभएको दाबी गरेका छन् ।

कांग्रेस झापा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले आज दमकस्थित पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले नपत्याउने खोलाले बगाउँछ भन्ने नेपाली सत्य उखान यहाँ पूरा भएर छाड्ने उल्लेख गरे ।

अहिले यस क्षेत्रमा दुई जना प्रधानमन्त्रीका उम्मेद्वार रहेको हल्ला चलेको भए पनि भावी प्रधानमन्त्री सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति गगन थापा निर्वाचित भएर आउने स्पष्ट गरे ।

देशभर रुख चिन्हमा मतदान गर्नु भनेको भिजन र उत्साह भएको नेतृत्वसंगै कांग्रेस सभापति थापालाई प्रधानमन्त्री बनाउनका लागि भएको भन्दै उनले आफ्ना निर्वाचन क्षेत्रमा कांग्रेसका सवै उम्मेद्वारलाई जिताउन कार्यकर्तालाई आग्रह गरे ।

अहिले देशैभर कांग्रेसका उम्मेद्वार रहेको भन्दै उनले कुनै पनि क्षेत्रमा कांग्रेसले कसैसंग पनि गठबन्धन नगर्ने स्पष्ट पारे । झापा ५ मात्रै नभएर देशैभरका कांग्रेस समर्थकले रुख चिन्हमा मतदान गर्न पाउने भन्दै हल्लाका पछि नलाग्न पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।

बदलिएको कांग्रेसलेनै मुलुक बदल्न सक्ने उल्लेख गर्दै उनले जेन–जी आन्दोलन पछिको अवस्थामा नेपाली कांग्रेस नै नयाँ पार्टीको रूपमा स्थापित भएको दाबी गरे ।

उपसभापति शर्माले भने,–‘चुनाव जित्नका लागि जादुजस्तो असम्भव आश्वासन बाढ्ने काम कांग्रेसले कहिल्यै गर्देन, गर्न सक्ने कामहरू मात्रै घोषणापत्रमा समेट्ने पार्टीको नीति लिएको छ ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुरेश सुब्बाले परिवर्तित कांग्रेसको पक्षमा देशभर जनलहर आइसकेको दाबी गरे । त्यसैगरी झापा–५ का कांग्रेस उम्मेद्वार मन्धरा पौडेलले जनताको उत्साह र समर्थनका कारण आफू जिततर्फ अग्रसर रहेको विश्वास व्यक्त गरिन् ।

कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिकाका उपसभापति पदम निरौला, गौरादह नगर सभापति यादव राज सेढाईं र गौरीगञ्ज गाउँ समिति उपसभापति दीपेन्द्र थापाले आ–आफ्ना क्षेत्रमा भइरहेको चुनावी तयारीबारे जानकारी गराएका थिए ।

कांग्रेस दमक नगरसमितिका कार्यबाहक सभापति प्रेम भट्टराईले स्वागत मन्तव्य राखेका सो कार्यक्रमको सञ्चालन कांग्रेस क्षेत्रीय सभापति धर्मानन्द भट्टराईले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *