काठमाडौं, २२ माघ–नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा(५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले अस्वीकार गरेका छन्।

चुनावी तालमेलका विषयमा ओली र दाहालबीच टेलिफोन संवाद भएको थियो । तर, नेकपाले देशभर १६४ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारले मनोनयन दर्ता गरी प्रचारप्रसार सुरु गरिसकेको भन्दै तालमेल सम्भव नभएको जवाफ दिएको छ ।

नेकपाका निर्वाचन प्रचारप्रसार समिति संयोजक अग्नि सापकोटाका अनुसार, ‘एमालेबाट तालमेलको प्रस्ताव आएको हो । हामीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर युद्धस्तरमा प्रचारप्रसार थालिसकेका छौँ । त्यसैले नेकपाले अब कसैसँग तालमेल गर्दैन।’

झापा–५ मा नेकपाबाट अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रञ्जित तामाङ उम्मेदवार रहेका छन् । एमाले र नेकपाबीच तालमेलको चर्चा बढेपछि संयोजक दाहालले अब कुनै पनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन् । उनले १६४ निर्वाचन क्षेत्रका निर्वाचन परिचालन समितिलाई घरदैलो अभियानलाई तीव्र बनाउने निर्देशन दिएका छन्।

सबै जिल्लाका निर्वाचन परिचालन समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै दाहालले एमालेलगायत दलसँग तालमेलको भ्रममा नपर्न आग्रह गरेका छन् । एमाले र नेकपाबीच तालमेलको चर्चा चुलिँदै जाँदा दाहालले आफ्ना उम्मेदवारलाई जिताउन पार्टी पंक्तिलाई सक्रिय हुन आग्रह गरेका हुन् ।

आफू उम्मेदवार रहेको रुकुम पूर्वमा एमालेले प्रलोपा उम्मेदवारलाई समर्थन गर्ने सहमति गरेपछि दाहाल सशङ्कित भएको उल्लेख गरिएको छ । सो क्षेत्रमा एमालेले आफ्ना उम्मेदवार लीलामणि गौतमलाई निष्क्रिय बनाउँदै सन्दीप पुनलाई समर्थन गरेपछि नेकपाभित्र असन्तोष देखिएको बताइएको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *