काठमाडौँ, २७ माघ–प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं। १ मा २६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ राजनीतिक दलबाट १९ र स्वतन्त्रतर्फ सात जना उम्मेदवार मैदानमा छन् ।
पुराना दल एमाले, नेपाली कांग्रेस, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी, नेपाल मजदुर किसान पार्टी लगायतका दलका उम्मेदवार र स्वतन्त्र व्यक्तिहरूबीच प्रतिस्पर्धा हुनेछ ।
उम्मेदवारहरूको उमेर ३१ देखि ६८ वर्षसम्म रहेको छ । सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ३१ वर्षीय राजकुमार लिम्बु कान्छा उम्मेदवार छन् भने राष्ट्रिय साझा पार्टीका ६८ वर्षीय भुपी राई ज्येष्ठ उम्मेदवार हुन् ।
धरान उपमहानगरपालिकाका पूर्वप्रमुख र श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ, नेकपाबाट सूर्य भट्टराई, नेपाली कांग्रेसबाट सुजेन्द्र तामाङ र एमालेबाट टिकाराम लिम्बू उम्मेदवार छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सरिन तामाङ, नेपाल मजदुर किसान पार्टीबाट महेश श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेसनबाट राजेन्द्र गुरुङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बू, नेपाली जनश्रमदान संस्कृति पार्टीबाट राजकुमार राई, संयुक्त नागरिक पार्टीबाट नरेश विक, उज्यालो नेपाल पार्टीबाट डम्बर लावती, नेकपा संयुक्त पार्टीबाट श्यामनारायण राजधामी, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बू, आम जनता पार्टीबाट रायबहादुर विष्ट, जनता समाजवादी पार्टी नेपालबाट सञ्जय राई, जनता समाजवादी पार्टीबाट नगेन्द्रबहादुर लिम्बू र मितेरी पार्टी नेपालबाट रक्षकुमार राईले पनि उम्मेदवारी दिएका छन् ।
स्वतन्त्र उम्मेदवारमा देउमान लिम्बू, सञ्जयकुमार राई, ओमकृष्ण उदास, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा, अजय विश्वकर्मा, चेतबहादुर राई र जीवनकला राई छन् ।
जिल्ला निर्वाचन कार्यलयका अनुसार यस क्षेत्रमा १ लाख ५० हजार ३९३ मतदाता छन् । ४१ मतदानस्थल र १६१ मतदान केन्द्र कायम गरिएको छ ।
