काठमाडौँ, २७ माघ–नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो चुनावी घोषणापत्रमा मुख्य चार प्रकारका राजनीतिक शक्तिबारे चर्चा गर्दै अहिलेको राजनीतिक प्रतिस्पर्धा ती समूहहरूबीच रहेको उल्लेख गरेको छ ।
पार्टीको ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’ भन्ने नारासहित प्रस्तुत प्रतिबद्धता पत्रमा यो वर्गीकरण गरिएको हो ।
नेकपाको दृष्टिमा चार राजनीतिक शक्ति यसप्रकार छन्ः
१) क्रान्तिकारी शक्ति
यसको मूल प्रतिनिधि नेपाली कम्युनिस्ट पार्टी रहेको उल्लेख गरिएको छ । नेकपाले मात्रै समाज रूपान्तरणको स्पष्ट दृष्टिकोण र समाजवादी कार्यदिशा अँगालेको दाबी गरेको छ ।
२) यथास्थितिवादी शक्ति
यसको प्रतिनिधित्व नेकपा एमाले र नेपाली कांग्रेसले गरेको पार्टीको भनाइ छ । नेकपा एमाले र कांग्रेसले मुलुकलाई अहिलेको अवस्थाबाट अगाडि बढाउने कुनै नवीन अवधारणा प्रस्तुत नगरेको र यथास्थितिमा रहन चाहेको प्रतिवेदनमा उल्लेख छ ।
३) पपुलिष्ट शक्ति
पपुलिष्ट शक्तिलाई नयाँ भन्नेहरूलाई सिद्धान्तहीन र दृष्टिकोणविहीन भएको र भदौ २४ को विध्वंस मच्चाउने तत्त्वसँग जोडिएको शक्ति बताइएको छ । यसले मुलुकका समस्या समाधान गर्ने दृष्टिकोण प्रस्तुत नगरेको र जनताको हितमा काम गर्न नसक्ने उल्लेख गरिएको छ ।
४) प्रतिगामी पुनरुत्थानवादी शक्ति
यसलाई राप्रपा (राष्ट्रिय स्वतन्त्र पार्टी) को रूपमा चुनावी मैदानमा रहेको भनिएको छ । नेकपाले यसले जनक्रान्तिद्वारा उखेलेको सामन्ती राजतन्त्र फर्काउन खोज्ने र देशलाई पछाडि धकेल्ने प्रयास गर्ने आरोप लगाएको छ ।
पार्टीले आम जनताले पाएका नागरिक अधिकार, लोकतन्त्र, सङ्घीयता, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षता आदि हासिल गर्न संघर्ष र नेतृत्व आफूले गरेको दाबी गरेको छ । घोषणापत्रमा भनिएको छ, ुव्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ। अरूले गफ गर्ने हुन हामी काम गर्छौँ।ु
नेकपाले विगतमा आफ्नो कमजोरी र त्रुटि हुनसक्ने स्वीकार गर्दै आत्मालोचनापूर्वक सचेत भएर सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ ।
