काठमाडौँ, २८ माघ–नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन नजिकिँदै गर्दा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् ।
दाङको घोराहीमा आयोजित जिल्लास्तरीय भेलामा बोल्दै उनले भने, ‘०६४ मा झैँ गल्ती गर्ने कि ०७० मा झैँ विवेक पुर्याउने ? मूल प्रश्न कुन दलले जित्ने होइन, विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्याउन सक्छ भन्ने हो।’
उनले संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस पहिलो दल बनेको बेला दुई वर्षभित्रै देशले संविधान पाएको स्मरण गराउँदै भने, ‘०६४ को चुनावमा कांग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो तर देशले नयाँ संविधान पाएन । संविधानसभाको दोस्रो निर्वाचन ०७० बाट कांग्रेस पहिलो दल बन्यो, दुई वर्षभित्रै देशले संविधान पायो।’
शर्माले कांग्रेसले प्रत्येक ऐतिहासिक मोडमा भिन्न शक्ति, दल र समुदायलाई समन्वय गरेर देशलाई निकास दिने क्षमता देखाएको उल्लेख गर्दै अब नयाँ पुस्तासँगको समन्वयमार्फत देशलाई विश्वासको नयाँ चरणमा पुर्याउने क्षमता पार्टीसँग रहेको दाबी गरे ।

