काठमाडौँ, २८ माघ–नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसपटक काँग्रेस र एमालेसँग समीकरण नगर्ने निर्णयपछि सिंगो पार्टीपंक्ति उत्साहित भएको बताएका छन् ।
म्याग्दीमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले काँग्रेस र एमालेसँग मिल्ने गल्ती नदोहोर्याउँदा ७७ वटै जिल्लाका नेता–कार्यकर्ता खुसी देखिएको उल्लेख गरे ।
उनले कुनै दलसँग गठबन्धन नगर्ने स्पष्ट पार्दै ढुक्क भएर निर्वाचन अभियानमा जुट्न आग्रह गरे । कहिलेकाहीँ शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग भेट हुँदैमा तरंगित नहुन पनि उनले अनुरोध गरे ।
राष्ट्रलाई एकताबद्ध गर्ने र सम्भावित दुर्घटनाबाट जोगाउने मुख्य जिम्मेवारी नेकपाकै भएको उनको भनाइ थियो। चुनावसम्म सबैले मेहनत गरे पार्टीलाई पहिलो शक्तिका रूपमा स्थापित गर्दै विगतका कमी सुधारेर निकास दिने दाबी गरे ।

