खोटाङ, १५ फागुन–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङका उम्मेदवार डा.हरि रोकाको चुनावी अपिल ११ भाषामा तयार पारिएको छ ।
नेकपाबाट उम्मेदवारी दिएका अर्थ तथा वाम राजनीतिक विश्लेषक डा.रोकाले चाम्लिङ, दुमी, साम्पाङ, पुमा, वाम्बुले, कोयी, तामाङ, गुरुङ, नेपाल (नेवार) र बान्तावा भाषामा अपिल प्रकाशन गरेका हुन् ।
खस नेपाली भाषासहित ११ भाषामा डा.रोकाको चुनावी अपिल प्रकाशन गरिएको प्रचारप्रसार समितिका संयोजक एवं पूर्वमन्त्री राजन राईले जानकारी दिए ।
उम्मेदवार डा.रोकाको पक्षमा चुनावी माहोल सृजना गर्नका लागि ‘हरि रोका जिताऔँ’ सहयोग समितिले प्रचार सामग्री तयार पारेको हो ।
मातृभाषामा तयार पारिएको प्रचार सामग्रीलाई अपिलको एकापट्टि मातृभाषामा र अर्कापट्टि खस नेपाली भाषामा डा.रोकालाई मत दिनुपर्ने कारण उल्लेख गरिएको छ ।
विभिन्न जातजातिका मतदातालाई उनीहरूकै भाषामा उम्मेदारको चुनावी एजेन्डाबारे जानकारी दिन भातृभाषामा अपिल तयार पारिएको निर्वाचन परिचालन मूल समितिका संयोजक एवं पार्टी केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईले बताए ।

