झापा, २५ फागुन–प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतगणनामा श्रम संस्कृति पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ ।निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार पार्टीले आवश्यक मत प्रतिशत कटाएको छ। यद्यपि, समानुपातिकको अन्तिम मतपरिणाम आइ नसकेकोले यसमा घटबढ हुनसक्ने देखिन्छ । यदि अन्तिम नतिजाअनुसार ३ प्रतिशत कटाए राष्ट्रिय पार्टी बन्नेछ ।

निर्वाचन आयोगको वेबसाइटमा सार्वजनिक विवरणअनुसार मध्याह्न १२ बजेसम्मको मतगणना अनुसार श्रम संस्कृतिले २ लाख ९७ हजार ८३ मत पाएको छ ।निर्वाचन आयोगका अनुसार मध्याह्नसम्म ४० लाख ९४ हजार ६५९ मत गणना भएको छ । यसअनुसार श्रम संस्कृतिले ३.५० प्रतिशत मत प्राप्त गरेको छ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत अनिवार्य गरिएको छ ।

प्रत्यक्षतर्फ सुनसरी–१ बाट हर्क स्वयम् निर्वाचित भएका छन् भने भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई श्रम संस्कृतिबाटै निर्वाचित भएका छन्। फागुन २१ को निर्वाचनमा १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो। निर्वाचनको ट्रेण्ड हेर्दा ५ लाख हाराहारीमा मत बदर हुने देखिन्छ।

यो हिसाबमा राष्ट्रिय दलको मान्यता पाउन ३ लाख १२ हजार हाराहारीमा मत प्राप्त गर्नुपर्नेछ । त्यसअनुसार श्रम संस्कृति पार्टीलाई अब कम्तिमा १५ हजार मत मात्रै आवश्यक पर्छ ।

समानुपातिकमा भोजपुरसहित संखुवासभा, इलाम–१, अछाम–२, बाजुरा, गोरखाको दुबै क्षेत्र, धनुषाको १ र २ गन्न बाँकी रहेकाले पनि श्रम संस्कृति राष्ट्रिय पार्टी बन्ने सम्भावना प्रबल बनेको हो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *