काठमाडौं, २ चैत–नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिसँगै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ ।
नेपाल आयल निगमले गएरातिबाट लागू हुने गरी डिजेलमा प्रतिलिटर १० र पेट्रोलमा १५ रूपैयाँ मूल्यवृद्धि गरेको थियो। महासंघका महासचिव डेकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा भारी मूल्यवृद्धिले यातायात व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर परेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा स्वचालित प्रणालीबाट भाडा समायोजन हुँदै आएको भए पनि विगत २०८१/९/२२ गतेदेखि भाडा समायोजन भएको छैन। हाल भएको उच्च मूल्यवृद्धिले व्यवसायीहरूलाई सेवा सञ्चालन गर्न कठिन भएको छ।’
महासंघले वैज्ञानिक विधिको आधारमा भाडा समायोजन गर्ने र सवारी साधनसँग सम्बन्धित १३ सूचकको आधारमा संघीय रुट र सातै प्रदेशका रुटको भाडा यथाशीघ्र समायोजन गर्न सरकारसँग माग गरेको छ।
