काठमाडौँ, ११ चैत–नेपाली कांग्रेसले १५औँ महाधिवेशन अगामी असोज १६ देखि १९ गतेसम्म गर्नेगरी कार्यतालिका संशोधनसहित पारित गरेको छ।
बुधवार बसेको पार्टी केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए। उनले १५औँ महाधिवेशनको प्रक्रिया यही चैत २३ गतेदेखि शुरु हुनेसमेत जानकारी दिए।
कार्यतालिकाअनुसार २०८३ भदौ २ गतेदेखि वडा अधिवेशन, गाउँ तथा नगर अधिवेशन भदौ ७ मा हुनेगरी निर्णय गरिएको बताइएको छ।
उनले भने, ‘पार्टीको १५औँ महाधिवेशनको मिति पारित भयो। महाधिवेशनको प्रक्रिया चैत २१ गतेबाट शुरु गर्छौँ। महाधिवेशनको फाइनल अगामी असोज १६, १७, १८ र १९ मा हुन्छ। बाँकी निर्णयहरूबारे भोलि दिउँसो ३ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्छौँ।’
बैठकले सरकार निर्माणको क्रममा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई औपचारिकरुपमा बधाई एवं शुभकामना दिएको बताए।
