काठमाण्डौं (एजेन्सी), १३ साउन–बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो ज्यान जोखिममा पर्न सक्ने, पक्राउ पर्ने वा जेल जानुपर्ने सम्भावना रहे पनि यही वर्षको डिसेम्बरसम्म स्वदेश फर्किने दृढ अडान व्यक्त गरेकी छिन्। भारतमा निर्वासनमा रहँदै आएकी उनले आफूलाई बङ्गलादेश फर्किन जनताले निरन्तर आग्रह गरिरहेको बताएकी छिन्।
एएफपीसँग इमेलमार्फतको अन्तर्वार्तामा ७८ वर्षीया हसिनाले आफ्नो भविष्यबारे पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै त्यसका बाबजुद मातृभूमि फर्किने निर्णयबाट पछि नहट्ने बताइन्। उनले आफ्नो ज्यान जान सक्ने, पक्राउ पर्न सक्ने वा जेल सजाय भोग्नुपर्ने अवस्था आउन सक्ने भए पनि त्यसका लागि आफू तयार रहेको धारणा व्यक्त गरिन्।
विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा उनको १५ वर्ष लामो शासन अन्त्य भएपछि भीडले प्रधानमन्त्री निवास घेरेको थियो। त्यसपछि उनी हेलिकोप्टरमार्फत भारत आएकी थिइन्। संयुक्त राष्ट्रसङ्घका अनुसार आन्दोलन दबाउन गरिएको सरकारी कारबाहीमा करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो।
गत नोभेम्बरमा ढाकास्थित एक अदालतले मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। हसिनाले उक्त निर्णयलाई कानूनको आवरणमा गरिएको राजनीतिक प्रतिशोधको संज्ञा दिएकी छिन्।
भारतमा गोप्य स्थानमा बसोबास गरिरहेकी हसिनाले आफूलाई स्वदेश फर्किन कुनै बाह्य दबाब नभएको बताइन्। उनका अनुसार ढाकाले भारतसँग आफ्नो सुपुर्दगी माग गरे पनि आफ्नो स्वदेश फर्कने निर्णय त्यससँग सम्बन्धित छैन। भारतीय अधिकारीहरूले प्रत्यर्पणबारे आफूसँग कुनै छलफल नगरेको र भारतमा सम्मानपूर्वक बसिरहेको उनले उल्लेख गरिन्।
हसिनाको बहिर्गमनपछि बनेको अन्तरिम प्रशासनका कारण केही समय चिसिएको भारत–बङ्गलादेश सम्बन्ध फेब्रुअरीमा तारिक रहमान प्रधानमन्त्री बनेपछि क्रमशः स्थिर हुँदै गएको बताइएको छ।
मानवअधिकार सङ्गठनहरूले हसिनाको शासनकालमा विपक्षीमाथि दमन, गैरन्यायिक हत्या, राजनीतिक हस्तक्षेप तथा विवादास्पद निर्वाचन गराएको आरोप लगाउँदै आएका छन्। तर हसिनाले ती आरोपलाई राजनीतिक उद्देश्यले सिर्जना गरिएको अभियानको संज्ञा दिँदै प्रत्येक आरोपपछि अनुसन्धान गरिएको र दोषीमाथि कानूनी कारबाही भएको दाबी गरिन्।
उनले विद्यार्थी आन्दोलन दमनका क्रममा अत्यधिक बल प्रयोग गरिएको आरोप पनि अस्वीकार गरिन्। आफ्नो सरकारले धैर्यका साथ आन्दोलनलाई शान्तिपूर्ण समाधानतर्फ लैजान प्रयास गरेको दाबी गर्दै उनले उक्त आन्दोलन सामान्य विद्यार्थी प्रदर्शन मात्र नभई योजनाबद्ध राजनीतिक अभियान भएको आरोप लगाइन्।
भारतमा हालै विद्यार्थी नेतृत्वमा भएका विरोध प्रदर्शनबारे टिप्पणी गर्न उनले अस्वीकार गरिन्। साथै, बङ्गलादेशमा प्रभावकारी रूपमा प्रतिबन्धमा परेको आफ्नो अवामी लिग पार्टीमार्फत स्वदेश फर्किएपछि पुनः सक्रिय राजनीति गर्ने वा नगर्नेबारे पनि स्पष्ट जवाफ दिइनन्।
उनले आफ्नो लक्ष्य सत्ता प्राप्ति नभई जनताको सेवा रहेको बताइन्। आन्दोलनका क्रममा ज्यान गुमाएका सबै परिवारप्रति सहानुभूति रहेको उल्लेख गरे पनि उनले माफी माग्न अस्वीकार गरिन्।
आन्दोलनका क्रममा सरकारले लिएका निर्णयप्रति पछुतो लागेको हो वा होइन भन्ने प्रश्नमा उनले राज्यका निर्णय कुनै एक व्यक्तिले मात्रै नगर्ने भएकाले सम्पूर्ण परिस्थितिलाई अलग गरेर मूल्याङ्कन गर्न नमिल्ने प्रतिक्रिया दिइन्।

