नेपाली कांग्रेसका महामन्त्री गगन थापा

काठमाडौं, २५ साउन–नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई समेत समेटेर पार्टीको १५ औँ महाधिवेशन निष्पक्ष र स्वच्छ ढंगले सम्पन्न गर्न आफू तयार रहेको बताएका छन्। तर, कुनै पक्षले दबाब, डर वा प्रलोभन देखाएर आफूलाई प्रभावित पार्न नसक्ने उनले स्पष्ट पारेका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति देउवासहित निवर्तमान कार्यसमितिका सबै नेताप्रति आफ्नो सम्मान रहेको बताए। पार्टीको आगामी महाधिवेशनलाई निष्पक्ष बनाउन आवश्यक पर्ने सबै काम गर्न आफू तयार रहेको उनको भनाइ थियो।

थापाले पार्टीभित्र सबै पुस्ता र समूहलाई समेटेर अघि बढ्नुपर्नेमा जोड दिए। कांग्रेसमा चार पुस्ताको सहभागिता रहेको उल्लेख गर्दै उनले कसैलाई पनि बाहिर राखेर पार्टी अघि बढ्न नसक्ने बताए।

‘तर एउटा कुरा के प्रस्ट पार्छु भने, म तर्साएर तर्सिन्नँ, दबाएर दबिन्नँ र फकाएर फकिन्नँ,’ थापाले भने, ‘यो पार्टीमा चार पुस्ताको सहभागिता छ, सबैलाई समेटेर लैजानुछ।’

उनले पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै निष्पक्ष महाधिवेशन सम्पन्न गर्नु आफ्नो प्राथमिकता रहेको संकेत गरे। महाधिवेशनका क्रममा कुनै समूह वा पक्षप्रति पूर्वाग्रह नराख्ने उनको भनाइ थियो।

सभापति थापाले पछिल्लो निर्वाचनमा कांग्रेसको जिम्मेवारीमा रहेका धेरै नेता तथा कार्यकर्ताले नै पार्टीको चुनाव चिह्न ‘रुख’मा मतदान नगरेको विषय पनि आफूहरूको जानकारीमा रहेको बताए।

पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरूबाटै पार्टीका उम्मेदवारलाई मतदान नगर्नु गम्भीर विषय भएको संकेत गर्दै उनले उक्त विषयलाई पार्टीले ‘नोटिस’मा राखेको बताए।

उनले कांग्रेसलाई आगामी दिनमा थप एकताबद्ध र बलियो बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा राखे। पार्टीभित्रका असन्तुष्टि र मतभेदलाई लोकतान्त्रिक विधिबाट सम्बोधन गर्दै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *