बिर्तामोड, ३ भदौं–झापाको दमकमा मूख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले आज बिर्तामोड र मोरङको पथरी सेवा केन्द्रमा ३२औं वार्षिक साधारणसभा इकाईगत सभा सम्पन्न गरेको छ ।

मंगलबार एउटै समय र एकै कार्यसूचीमा दुई फरक स्थानबाट मेची बहुउद्देश्यीय सहकारी संस्थाले ३२औं वार्षिक साधारणसभा अन्तरगतको इकाईगत सभा सञ्चालन गरेको हो ।

बिर्तामोड सेवाकेन्द्र व्यवस्थापन उपसमितिका संयोजक उत्तम खनालको अध्यक्षतामा बिर्तामोडमा आयोजित एकाईगत साधारणसभामा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले चालू आर्थिक वर्षका लागि प्रस्तावित नीति तथा कार्यक्रमहरु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनसँगै आफ्नो मन्तब्यमा उहाँले सरकारका विभिन्न तहबाट सहकारी अभियान तथा शेयरधनीहरुमा प्रतिकूल प्रभाव हुनेगरी समीक्षा वर्षमा विरोधाभाषपूर्ण निर्देशनहरु जारी भएकाले सोचेजति काम गर्न नपाइएको प्रष्ट पार्नुभयो ।

उहाँले देशभर ३० हजारभन्दा बढी प्रारम्भिक सहकारी संस्थाहरु चलायमान रहे तापनि ४० वटाजति संस्थामा सिर्जित समस्यालाई देखाएर अभियानमाथि नै हिलो छ्याप्ने काम भइरहेको पनि जिकिर गर्नुभयो ।

यद्यपि मेची बहुउद्देश्यीय सहकारी संस्था यस्ता सानातिना हुरी, हुण्डरी र बतासले हल्लाउन सक्ने संस्था होइन, किनकि यो संस्था विकृति र विसंगतिबाट टाढा वैधानिक कर्ममा छ, अध्यक्ष भट्टराईको दावी छ ।

गत साधारणसभामा पारित भएका ४ वटा कार्यक्रमबाहेक सबै कार्यान्वयन गरेको स्पष्ट पार्नुहुँदै उहाँले मेची सहकारी उद्योगमा पनि प्रवेश गरेकाले अबको केही दिनपछि नै मेची जल लिएर सदस्यहरु माझ आइपुग्ने सन्देश पनि प्रवाह गर्नुभयो ।

उक्त कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक हरिप्रसाद चापागाईंले विषयगत प्रतिवेदन तथा ब्यवस्थापक चन्द्रप्रसाद थापाले संस्थाको वित्तीय विवरण, संस्थाले वर्षभर सदस्यहरुमाझ प्रदान गरेको सुविधाहरु एवम् लेखापरीक्षण प्रतिवेदनका मूलभूत सन्दर्भहरु प्रस्तुत गर्नुभयो ।

बिर्तामोड सेवाकेन्द्र व्यवस्थापन उपसमितिका सचिव गणेश पोखरेलले सञ्चालन गर्नुभएको एकाईगत साधारणसभामा आमन्त्रित सेयरधनीहरुलाईलाई कर्जा उपसमितिका संयोजक लीलाप्रसाद अधिकारीले शाब्दिक स्वागतसहित बिर्तामोडको वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा विर्तामोड सेवा केन्द्र अन्तरगतका उत्कृष्ट कारोबारी सदस्यहरुलाई प्रशंशा पत्रसहित मायाको चिन्हो प्रदान गरिएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *