काठमाडौँ, १६ भदौं–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ।
संसदीय दलको सोमवार सिंहदरबारमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र पुनस्र्थापनाका लागि पार्टीले यो कदम चालेको जानकारी दिइन्।
बैठकमा विपद् प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएका नेता तथा सांसदहरूले त्यहाँको वस्तुस्थितिबारे जानकारी गराउनुका साथै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।
बैठकले संसदको अधिवेशन तत्काल सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ। प्रमुख सचेतक थापाका अनुसार सदनमार्फत नै जनताका समस्याहरूलाई सरकारसमक्ष पुर्याउन र बेपत्ता भएका व्यक्तिहरूको खोजतलासका लागि जिल्ला–जिल्लाबाट सूचना संकलन गर्न सहज हुने भएकाले सदन खुलाउन जरुरी देखिएको हो । यसबारे सभामुखसँग समेत छलफल गरिने उनले बताइन्।
स्थलगत अनुगमनका सन्दर्भमा काँग्रेसले आफ्ना सांसदहरूलाई प्रभावित क्षेत्रमा जाँदा उद्धार कार्यमा बाधा नपुग्ने गरी, भीडभाड नगरी र आवश्यक समन्वयका साथ मात्र जान निर्देशन दिएको छ। राहत वितरणको प्रभावकारिताबारे बोल्दै थापाले हाल कायम रहेको ‘एकद्वार प्रणाली’ राहत संकलनमा सफल देखिए पनि वितरणमा भने समस्या देखिएको टिप्पणी गरिन्।
उनले भनिन्, ‘कुन क्षेत्रमा कति क्षति भयो र कुन परिवारलाई कस्तो सहयोग आवश्यक छ भन्ने विस्तृत विवरण स्थानीय तहसँग मात्र हुन्छ। त्यसैले राहत वितरण र तथ्याङ्क संकलनको पूर्ण जिम्मेवारी स्थानीय र प्रदेश सरकारलाई दिनु उपयुक्त हुन्छ।’
प्रभावित क्षेत्रमा राहत नपुगेको र व्यवस्थापनमा कमजोरी देखिएको जनगुनासो आएकाले त्यसलाई सम्बोधन गर्न सरकारले तदारुकता देखाउनुपर्नेमा समेत कांग्रेसले जोड दिएको छ ।
