दमक, १८ भदौं–नारी सञ्चार गृह झापाले आफ्नो १५औँ स्थापना दिवस तथा १४औँ वार्षिक साधारण सभा सामाजिक एवम् सिर्जनात्मक कार्यक्रम गरी मनाएको छ।

बिर्तामोडमा आज आयोजित कार्यक्रममा संस्थाले बाढीपीडितलाई राहत सहयोग र आफ्ना चार जना सदस्यहरूलाई सम्मानसहित लेखनवृत्ति प्रदान गरेको हो।

गृहले स्थापना दिवसको अवसरमा भोटेकोशी क्षेत्रका बाढी प्रभावित परिवारको राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १५ हजार रुपैयाँ जम्मा गरेको छ।
गृहले संस्थाका चार जना सदस्यहरूलाई जनही ५ हजार लेखनवृत्तिसहित सम्मानपत्र प्रदान गरेर पुरस्कृत तथा सम्मानित पनि गरेको छ।

सामुदायिक विद्यालयहरूमा खानेपानी, शौचालय तथा सेनेटरी प्याड भेन्डिङ मेसिनको अवस्था सम्बन्धी समाचारका लागि सृजना परियार र जलवायु परिवर्तन र मानव जीवनमा प्रभाव सम्बन्धी समाचारका लागि सविना लिम्बूलाई लेखनवृत्ति प्रदान गरिएको हो ।

यसैगरी पूर्व अध्यक्ष भिमा शिवाकोटीद्वारा स्थापित तीजको सामाजिक सांस्कृतिक महत्व’ सम्बन्धी विषयमा स्टोरी लेख्ने किरण हुमागाईंलाई र संस्थापक अध्यक्ष सावित्रा दाहालद्वारा स्थापित वर्ष उत्कृष्ट सदस्य पुरस्कारबाट रञ्जिता खड्कालाई पुरस्कृत गरिएको छ ।

संस्थाका अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष अम्बिका भण्डारी प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहाल, पूर्व अध्यक्ष भिमा शिवाकोटी, निवर्तमान अध्यक्ष रेजिना गौतम तथा संस्थापक सदस्यहरू भवानी क्षेत्री, सुशिला सङ्ग्रौला र इन्दु पूर्वेलीको आतिथ्य रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *