दमक, १९ भदौ–दमक जेसीजले जेसीज सप्ताह २०२६ अन्तर्गत शुक्रबार दमकमा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरेको छ।
दमक–७ स्थित नमूना ब्याडमिन्टन कभर्ड हलमा आयोजित प्रतियोगिताको उद्घाटन दमक–७ का वडाध्यक्ष तथा हलका संरक्षक भीमप्रसाद पौडेलले गर्नुभएको हो।
दमक जेसीज वर्ष २०२६ का अध्यक्ष राजेन्द्र बिमलीको अध्यक्षता तथा वडाध्यक्ष पौडेलको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

प्रतियोगिताको उद्घाटन अवसरमा दमकका अग्रज खेलाडीहरू धनजीत रुमाहाङ राई, हस्तराज बेघा, खिलानन्द लावोती र राजकुमार भट्टराईलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा दमक नमूना ब्याडमिन्टन कभर्ड हलका अध्यक्ष प्रकाश राईले ब्याडमिन्टन खेलप्रति दमक जेसीजले देखाएको चासो र सक्रियताको प्रशंसा गर्दै दुई संस्थाबीचको सहकार्य आगामी दिनमा पनि निरन्तर रहोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो।

प्रतियोगिता कार्यक्रम संयोजक पुष्पराज पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा दमक जेसीजका पूर्वअध्यक्षहरू सहदेव भट्टराई, चन्द्र खत्री, घनश्याम कोइराला लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
दमक जेसीजका महासचिव रुवल अधिकारीका अनुसार जेसीज सप्ताह अन्तर्गत यसअघि दमकस्थित किओच बाल अस्पताललाई सहयोग हस्तान्तरण गरिएको थियो भने दमक बसपार्क नजिक रहेको ईभी चार्जिङ सेन्टरमा सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ। जेसीज सप्ताहका बाँकी कार्यक्रमहरू पनि निरन्तर सञ्चालन हुने जनाइएको छ ।

