काठमाडौं, २० असोज–नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ।

गत आइतबार उद्घाटन भएको महाधिवेशनको तेस्रो दिन आज उम्मेदवारी दर्तादेखि उम्मेदवारको नामावली प्रकाशनसम्मका प्रक्रिया अघि बढाइने भएको हो।

काठमाडौँको खुलामञ्चमा जारी महाधिवेशनमा सोमबार बन्दसत्र सुरु हुनुअघि बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन गरी केन्द्रीय कार्यसमितिको आकार बढाउने निर्णय गरेको थियो।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारी मनोनयनपत्र दर्ता हुनेछ।

मनोनयन दर्ताको समय सकिएपछि निर्वाचन समितिले दिउँसो ४ः३० बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गर्नेछ। प्रकाशित नामावलीविरुद्ध दाबी–विरोधका लागि ४ः३० देखि ५ः३० बजेसम्मको समय छुट्याइएको छ।

यस अवधिमा परेका दाबी–विरोध तथा उजुरीमाथि साँझ ५ः३० देखि ६ः३० बजेसम्म जाँचबुझ गरिनेछ। जाँचबुझपछि निर्वाचन समितिले आजै साँझ ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ।

त्यसपछि भोलि असोज २१ गते उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया पूरा गरिनेछ।

अन्तिम नामावली सार्वजनिक भएपछि असोज २२ गते बिहान ७ः३० बजेदेखि नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशन नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गर्नेछ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *