पुष्पकमल दाहाल ‘प्रचण्ड’

काठमाडौँ, ७ कार्तिक–नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सँग राष्ट्रिय मुद्दाहरूमा सहकार्य हुनसक्ने भए पनि तत्काल पार्टी एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार आयोजित ‘पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै संयोजक दाहालले आफ्नो दल भ्रष्टाचारविरुद्ध उभिएको र एमाले सुशासनको विपक्षमा देखिएकाले दुई दलको चरित्र नै फरक रहेको दाबी गरे।

कार्यक्रममा सञ्चारकर्मीहरूले सोधेका प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्री दाहालले जनतामा माओवादी अस्तित्वबारे भ्रम फैलाउन खोजिएको बताए।

तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित २६ वटा साना–ठूला कम्युनिस्ट घटकहरू एकीकृत भई वर्तमान नेपाली कम्युनिस्ट पार्टी बनेको उल्लेख गर्दै उनले विचार र भावना यसैभित्र समाहित रहेको जिकिर गरे।

शान्ति प्रक्रियायता पार्टीका नामहरू बदलिए पनि मूल राजनीतिक कार्यदिशा र जनपक्षीय एजेन्डा नबदलिएको उनको भनाइ छ।

नेकपा ९एमाले० सँगको भिन्नताबारे बोल्दै संयोजक दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान चलाइरहेकै बेला संसदका दुई ठूला दल मिलेर आफूलाई सरकारबाट हटाएको स्मरण गरे।

लोकतन्त्रमा पहिलो र दोस्रो दल मिलेर सत्ता सञ्चालन गर्नु संसदीय अभ्यासविपरीत भएको टिप्पणी गर्दै उनले आफूहरू भ्रष्टाचारविरुद्ध लड्ने र तत्कालीन सत्तापक्ष भ्रष्टाचारको संरक्षणमा लागेको आरोप लगाए।

यद्यपि, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक अधिकार रक्षाका निम्ति आवश्यकताअनुसार जो–कोहीसँग पनि संवाद र सहकार्य गर्न सकिने तर त्यसलाई पार्टी एकताका रूपमा बुझ्न नहुने उनले स्पष्ट पारे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *