काठमाडौँ, ७ कार्तिक–नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको स्वाभिमानमा आँच पुर्याउने काम हुँदा आफूहरू टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्।
दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ कार्यक्रममा उनले राष्ट्रिय हितमा आघात पुग्ने र देशको स्वाभिमानमा आँच आउने गतिविधिलाई स्वीकार गर्न नसकिने बताएका हुन्। उनले राष्ट्रियताबारे जनचेतना र जागरण बढाउन पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको बताए।
राष्ट्रियता, संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र जनजीविकाका सवाल आफूहरुको प्राथमिकतामा रहेको उनको भनाइ छ। उनले जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न संविधानको संरक्षण आवश्यक रहेको बताए।
लोकतान्त्रिक गणतन्त्र, समावेशिता र विधिको शासनलाई संस्थागत गरेको संविधानको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको काँधमा रहेको उनको भनाइ छ। संविधानको रक्षा र विधिको शासनप्रतिको प्रतिबद्धतालाई अभियानका क्रममा प्रमुखताका साथ उठाइने बताए।
नेपालले भने, ‘हाम्रो राष्ट्रिय हितमाथि आघात पुर्याउने र देशको स्वाभिमानमा आँच पुर्याउने कुनै काम हुन्छ भने त्यसलाई हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ।’
उनले इतिहासमा खेलेको गौरवशाली भूमिकालाई बिर्सेर नयाँ इतिहास निर्माण गर्न नसकिने बताए। पार्टीभित्र त्रुटि र कमजोरी भए त्यसलाई सुधार गर्न तयार रहेको बताउँदै उनले जनतासँग जोडिने, राष्ट्रियता र संविधानको रक्षा गर्ने तथा जनताका समस्यालाई सम्बोधन गर्ने बताए।

