काठमाडौँ, १८ कार्तिक–नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सञ्चारमाध्यममाथि भइरहेको हस्तक्षेप र पत्रकारमाथिको धरपकडप्रति चिन्ता व्यक्त गर्दै प्रेस स्वतन्त्रताको पक्षमा सञ्चारकर्मीहरू आफैँले आवाज उठाउनुपर्ने बताएका छन्।

बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले सञ्चारमाध्यममाथि हस्तक्षेप हुँदा सञ्चार जगत एकजुट भएर प्रतिवाद गर्न नसकेको भन्दै प्रश्न उठाए।

उनले पत्रकार पक्राउ परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाउने हो भन्दै सञ्चारकर्मीहरूलाई प्रतिप्रश्न गरे। सञ्चारमाध्यममाथि डर र त्रास सिर्जना हुँदा त्यसको प्रभाव समग्र लोकतन्त्रमै पर्ने उनको भनाइ छ।

शर्माले सञ्चारमाध्यममाथि हस्तक्षेप हुँदा मिडियाले नै आफ्नो पक्षमा निर्भीकतापूर्वक आवाज उठाउनुपर्ने बताए। उनले लोकतन्त्रको अवस्था निर्वाचनबाट मात्रै नभई प्रेसले निर्भयतापूर्वक लेख्न पाउने अवस्थाबाट मापन हुने बताए।

उनले सञ्चारमाध्यममाथि निरन्तर दबाब र हैरानी सिर्जना गरिए लोकतन्त्रको वास्तविक अभ्यास कमजोर हुने बताए। नेपालको संविधान, शान्ति प्रक्रिया र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि राजनीतिक दलसँगै सञ्चारमाध्यमले पनि अग्रपङ्क्तिमा रहेर भूमिका खेलेको स्मरण गर्दै उनले नेपाली कांग्रेसका तर्फबाट सञ्चार जगत्प्रति सम्मान व्यक्त गरे।

उनले भने, ‘तपाईंहरू कुन–कुन मिडियाकर्मी पक्राउ स्वयं परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठ्ने होरु तपाईं कुन–कुन मिडियाको अघिल्तिर मोटर तेस्र्याएपछि मात्रै भयको अनुभूति गर्नेरु संसारको कुनैपनि देशमा लोकतन्त्र छ कि छैन भन्ने आधार त्यहाँ हुने निर्वाचन होइन। कुनै पनि देशमा लोकतन्त्र छ या छैन भन्ने कुराको सबैभन्दा बलियो आधार र मानक के हो भने त्यो देशको प्रेसले निर्भयतापूर्वक लेख्न पाउँछन् या पाउँदैनन् भन्ने हो।’

शर्माले मिडिया हाउसमाथि गाडी तेस्र्याइएको घटनाको छानबिनबारे पनि प्रश्न उठाए। उक्त घटनाको छानबिन गर्न निर्देशन दिइए पनि अहिलेसम्म त्यसको तथ्य र प्रतिवेदन सार्वजनिक नभएको भन्दै उनले सरकार तथा सम्बन्धित पक्षको जवाफदेहितामाथि प्रश्न उठाए ।’

विश्वप्रकाश शर्मा

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *