कमल, २८ कार्तिक–बालबालिकाको स्वास्थ्य, पोषण तथा समग्र शारीरिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित कमल गाउँपालिकामा राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउने कार्यक्रम सम्पन्न भएको छ। नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत २०८३ साल कार्तिक १७ र १८ गते गाउँपालिकाका सातवटै वडामा एकैसाथ अभियान सञ्चालन गरिएको हो।
गाउँपालिकाका २४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सक्रिय सहभागितामा सञ्चालन गरिएको अभियानमार्फत लक्षित उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा जुकाको औषधि खुवाउनुका साथै बालबालिकाको पोषण अवस्था परीक्षण र नियमित खोप सेवाको अवस्थाबारे समेत खोज तथा पहिचान गरिएको थियो।
कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षमुनिका बालबालिकालाई जुकाको औषधि (अल्बेन्डाजोल) खुवाइएको थियो। भिटामिन ‘ए’ ले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कायम राख्न तथा आँखाको स्वास्थ्य संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्दछ भने जुकाको औषधिले पेटमा हुने परजीवीको संक्रमण नियन्त्रण गरी बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउन सहयोग पुर्याउँछ।
लक्ष्यभन्दा बढी बालबालिकाले पाए सेवा
स्वास्थ्य शाखा प्रमुख दीपक दाहालका अनुसार भिटामिन ‘ए’ क्याप्सुल वितरणतर्फ कुल ३ हजार ४७८ जना बालबालिकाको लक्ष्य निर्धारण गरिएकोमा ३ हजार ६४१ जना बालबालिकालाई सेवा प्रदान गरिएको छ। यसअनुसार लक्ष्यको १०४.६९ प्रतिशत प्रगति हासिल भएको छ।
त्यसैगरी जुकाको औषधि वितरणतर्फ ३ हजार १५३ जना बालबालिकाको लक्ष्य रहेकोमा ३ हजार ३८० जना बालबालिकालाई औषधि खुवाइएको स्वास्थ्य शाखा प्रमुख दाहालले जानकारी दिनुभयो । यो लक्ष्यको १०७.२ प्रतिशत प्रगति हो। दुवै कार्यक्रमको लक्ष्यभन्दा बढी बालबालिकाले सेवा प्राप्त गर्नु अभियानको सकारात्मक उपलब्धिका रूपमा रहेको स्वास्थ्य शाखा प्रमुख दहालले जानकारी गराउनुभयो ।
३ हजार ३२ बालबालिकाको पोषण अवस्था परीक्षण, खोप छुटेका बालबालिका भेटिएनन्
यस अभियानलाई भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरणमा मात्र सीमित नराखी बालबालिकाको पोषण अवस्था पहिचान तथा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने अभियानका रूपमा समेत सञ्चालन गरिएको थियो। कार्यक्रमका क्रममा ३ हजार ३२ जना बालबालिकाको पोषण स्क्रिनिङ गरिएको थियो। बालबालिकाको पाखुराको मध्य भागको परिधि मापन गरी पोषण अवस्थाको लेखाजोखा गरिएको थियो। यसबाट पोषण जोखिममा रहेका बालबालिकाको पहिचान गरी आवश्यक परामर्श तथा सेवाका लागि सहजीकरण गर्न सहयोग पुगेको छ।
त्यसैगरी अभियानका क्रममा नियमित खोप सेवा लिन छुटेका बालबालिकाको खोज तथा पहिचानसमेत गरिएको थियो। प्राप्त अन्तिम विवरणअनुसार खोप लगाउन छुटेका बालबालिका नभेटिनुले गाउँपालिकामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि भइरहेका प्रयासलाई थप सकारात्मक बनाएको छ।
स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको सक्रियतामा सफल अभियान
गाउँपालिकाका सातवटै वडामा एकैसाथ सञ्चालन भएको यस अभियानलाई सफल बनाउन २४ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो ।
स्वास्थ्य संस्थाका प्रमुख दाहालसहित पालिकाका स्वास्थ्यकर्मीहरूको समन्वय, सहजीकरण र अनुगमन तथा अभिभावकहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न सहयोग पुर्याएको थियो।
पालिका अध्यक्ष हुकुमसिं राईले बालबालिकाको स्वास्थ्य र पोषण सुधार स्थानीय सरकारको महत्वपूर्ण प्राथमिकता भएको उल्लेख गर्दै यस्ता जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकबीचको सहकार्य आवश्यक रहेको सन्देश दिनुभएको छ।
बालबालिकाको स्वस्थजीवन, पोषणयुक्त भविष्य र रोगमुक्त समाज निर्माणका लागि नियमित खोप, पोषण परीक्षण, भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरणजस्ता जनस्वास्थ्यका कार्यक्रमलाई निरन्तर प्रभावकारी रूपमा सञ्चालन गर्दै जाने गाउँपालिकाको प्रतिबद्धता रहेको छ।

