दमक, २९ कार्तिक–किरात याक्थुङ चुम्लुङ दमक नगर समितिले दमक–१ संगम चोकस्थित गुमानसिंह सम्बाहाम्फेको कटेरोमा भएको आगलागी घटनाको निष्पक्ष छानवीन गर्न माग गरेको छ ।
चुम्लुङ दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले आज (आइतवार) प्रेस विज्ञप्ति जारी गरि संगम चोक निवासी सम्बाहाम्फेको कटेरोसंगै त्यहाँ रहेका लिम्बू जातिका परम्परागत बाजागाजा, गरगहना, वेषभूषासमेत नष्ट हुने गरि भएको आगलागी घटनाको छानवीन गर्न माग गरिएको हो ।
सम्बाहाम्फे याक्थुम चुम्लुङ दमकको पूर्व अध्यक्ष हुन् । चुम्लुङले सो घटना अत्यन्तै निन्दनीय भएको भन्दै यस घटनाको निष्पक्ष छानवीन गर्न प्रशासनसंग माग गरिएको बिज्ञप्तीमा उल्लेख छ ।
सम्बाहाम्फेकै अगुवाईमा त्यहाँ चुम्लुङ दमक नगर समितिअन्तर्गत लिम्बू सांस्कृतिक परिषदको कार्यालय स्थापना गरिएको थियो ।
विज्ञप्तिमा भनिएको छ, –‘च्याब्रुङ यो वाजागाजा मात्र नभएर लिम्बू समुदायको पहिचान,इतिहाससंगै सभ्यता र मुन्धुमी दर्शन हो । सामाजिक, संस्कृतिमाथि नै यस किसिमको अपराधिक कार्य कदापि स्वीकार्य छैन् ।’
अध्यक्ष चेम्जोङले सांस्कृतिक परिषदको कार्यालयसहित लिम्बूजन्य सांस्कृतिक धरोहर माथि भएको आगलागीको घटना भवितव्य नभई कुनै पनि अपराधिक मनसाय लिएकाहरुबाट हुन सक्ने भएकाले त्यसप्रति प्रशासनले गहिएर निष्पक्ष छानवीन गरिनु पर्ने उल्लेख गरेका छन् ।
