प्रधानमन्त्री बालेन शाह

काठमाडौं, २९ कार्तिक–प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सचिवालयका सदस्यहरूको जिम्मेवारी हेरफेर गर्दै पाँच जनालाई संयोजक र पाँच जनालाई उपसंयोजकको जिम्मेवारी दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक अधिकारीका अनुसार उनीहरूलाई क्रमशः सहसचिव र उपसचिवसरहको सेवा सुविधा उपलब्ध गराइएको छ ।

नयाँ जिम्मेवारीअनुसार विकास परियोजनाको काम हेर्दै आएका सञ्जीव पाण्डे विकास तथा मन्त्रालयगत समन्वय संयोजक बनेका छन् । यसअघि कार्यक्रम तथा भ्रमणको जिम्मेवारीमा रहेका सन्तोष गिरीलाई अन्तरनिकाय समन्वय संयोजक तोकिएको छ ।

त्यस्तै, सामाजिक विकाससम्बन्धी विषय हेर्दै आएका विश्व राईले सामाजिक विकास समन्वय संयोजकको जिम्मेवारी पाएका छन् । प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाललाई मिडिया व्यवस्थापन संयोजक बनाइएको छ ।

यसअघि उपसचिवसरहको सेवा सुविधा पाउँदै आएका विशाल अधिकारीलाई भने सहसचिवसरहको सुविधा दिएर सरकारी मामिला तथा योजना समन्वय संयोजकको जिम्मेवारी दिइएको छ ।

उपसंयोजकमा सुमन गौतमलाई नागरिक उड्डयन समन्वय, रविकिरण अधिकारीलाई सामाजिक विकास समन्वय र प्रकृति ढकाललाई स्वास्थ्य समन्वयको जिम्मेवारी दिइएको छ ।

विनय शाक्य संस्कृति तथा सम्पदा समन्वय र दीपकप्रसाद ओली नीति मस्यौदा अध्ययन उपसंयोजक बनेका छन् ।

सचिवालयका एक सदस्यका अनुसार सदस्यहरूले यसअघि सम्हालेको जिम्मेवारी र हालसम्म गरेको कामको समीक्षा गरेर नयाँ जिम्मेवारी तोकिएको हो ।

प्रधानमन्त्रीका सल्लाहकारहरूको जिम्मेवारी भने परिवर्तन गरिएको छैन । कुमार व्यञ्जनकार मुख्य सल्लाहकार, असिम शाह राजनीतिक सल्लाहकार र प्रा।डा। जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकारका रूपमा यथावत् छन् ।

त्यस्तै, सुदीप ढकाल नीति, प्रशासन तथा सुशासन सल्लाहकार र विवेक मिश्र सूचना तथा सञ्चार प्रविधि सल्लाहकारकै जिम्मेवारीमा छन् ।

प्रमुख स्वकीय सचिव सुवास शर्मा र स्वकीय सचिव नवीन भण्डारीको जिम्मेवारी पनि यथावत् राखिएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *