झापा, ३० कात्तिक–झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बामा धानको दुईवटा कुन्यूमा आगजनी भएको छ ।
कनकाई नगरपालिका वडा नं। ९, घैलाडुब्बा पशुहाटबाट उत्तरतर्फ रहेको लोक बाह्रकोटीको २५ कट्ठा जग्गामा ४८ वर्षीय महबुब आलमले लगाएको धानको कुन्यूमा गएराति अज्ञात समूहले आगजनी गरेको हो ।
राति भएको सो घटनाको जानकारी प्रहरीले आज विहान ८ बजे मात्र पाएको थियो । घटनास्थलमा प्रहरी टोली पुग्दा दुवै धानको कुन्यू पूर्णरूपमा जलेर नष्ट भइसकेको थियो भने आगो पनि निभिसकेको थियो ।
आगलागीबाट अन्दाजी ९० मन धान र पराल गरी अन्दाजी १लाख ५१ हजार रुपैयाँ बराबरको क्षति भएको छ । आगलागी कसरी र कुन कारणले भएको हो भन्ने विषयमा इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
