काठमाडौं, २ मंसिर–नेकपा (एमाले) को राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे भेला सुरु हुने पार्टीले जनाएको छ ।
राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न र आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
मंगलबार बसेको पार्टी स्थायी कमिटी बैठकले भेलाका एजेन्डा अनुमोदन गरेको थियो । असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा एकरूपता ल्याउने तथा पार्टीले गर्नुपर्ने १५ कामबारे भेलामा छलफल हुने भट्टले बताए ।
भेलामा केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन् । अधिकांश सहभागी काठमाडौं आइसकेका छन् ।
भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरू रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि भेलालाई सम्बोधन गर्ने प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

