काठमाडौं, २९ जेठ–कोरनो भाइरसको महामारी विश्‍वभर अझै फैलिँदो क्रममा छ। विश्वभर अन्तराष्ट्रिय उडानहरु अवरुद्ध हुँदा अझै पनि धेरै देश क्‍वारेन्टाइनमा छन्। नेपाली खेलकुद पनि अन्तराष्ट्रिय महत्वपूर्ण प्रतियोगिताहरु एकपछि अर्को गर्दै स्थगनको चपेटामा छ। पछिल्लो समय आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले स्कटल्याण्डमा खेल्ने एकदिवसीय सिरिज स्थगित भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले बिहीबार स्कटल्याण्डमा हुने सिरिज स्थगित गरिएको जनाएको छ। कोरोना भाइरसको महामारीको कारण जुलाईमा तय भएको ६ खेलको एकदिवसीय सिरिज स्थगित भएको जनाएको छ। सिरिजमा नेपाल सहित घरेलु टोली स्कटल्याण्ड र नामिबिया सहभागी हुने तय थियो।

सिरिज ४ जुलाई देखि ११ सम्म हुने कार्यतालिका रहेको थियो। यस अघि आईसीसीले नामिबिया र पपुवा न्युगिनीमा तय भएको सिरिज स्थगित गरिसकेको छ। घरेलु टिम नामिबिया, नेपाल र स्कटल्याण्डबीचको सिरिज अप्रिल २० देखि २७ सम्म तय भएको थियो। यस्तै, नेपाल, पपुवा न्युगिनी र युएईबीचको सिरिज जुन ९ देखि १६ सम्म हुने तय थियो।

विश्‍वकप लिग-२ प्रतियोगिता सन् २०२३ विश्‍वकप छनोट प्रतियोगितामा पुग्ने राम्रो मौकाका रुपमा रहेको छ। ७ राष्ट्रले ३४ एकदिवसीय अन्तराष्ट्रिय म्याच खेल्ने कार्यतालिका रहेको छ। शीर्ष तीन टिमले सिधै विश्वकप छनोट खेल्न पाउने छन्। नेपालले यस अघि एक सिरिज खेलिसकेको छ।

अमेरिका र ओमानसँगको सिरिजमा नेपालले ४ खेल खेल्दै २ मा जित र २ मा हार ब्यहोरेको छ। नेपाल ४ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *