काठमाडौं, ३२ जेठ–कोरोना भाइरसपछि भएको स्पेनिस ला लिगामा बार्सिलोनाले सानदार जित हात पारेको छ।
बार्सिलोनाले शनिबार राति दर्शकबिनाको रंगशालामा भएको खेलमा रियल मालोर्कालाई ४-० गोलले पराजित गरेको हो।
बार्सिलोनाका लागि भिदालले दोस्रो मिनेटमा गोल गरे। हेडमार्फत भएको सो गोल खेल सुरू भएको ६६ सेकेन्डमा भएको थियो।
३७औं मिनेटमा बाथवेटले बार्सिलोनाका लागि दोस्रो गोल गरे। जोर्डी अल्बाले ७९ मिनेटमा तेस्रो गोल गर्दा लिओनल मेसीले दोस्रो हाफको इन्जुरी टाइममा चौथो गोल गरे। सिजनको ला लिगामा मेसीले २०औं गोल गरेका हुन्।
जितसँगै शीर्ष स्थानको बार्सिलोनाले दोस्रो स्थानको रियल म्याड्रिडसँग ५ अंकको दूरी बनाएको छ।
बार्सिलोनाले २८ खेलबाट ६१ अंक जोडेको छ। एक खेल कम खेलेको रियलको ५६ अंक छ। रियलले आइतबार एइबारसँग खेल्नेछ।
