एजेन्सी, ४ असार–एक सय दिन पछि शुरु भएको इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आर्सनलमाथि सहज जीत् निकालेको छ। सिटीको घरेलु मैदानमा भएको खेलमा आर्सनललाई तीन शून्यले पराजित गर्यो। खाली रंगशालामा भएको खेलको पहिलो हाफको इन्जुरी समयमा सिटीले अग्रता बनायो। उसका लागि रहिम स्ट्रलिङले गोल गरे।
पहिलो हाफमा एक गोलले पछि परेको आर्सनल दोस्रो हाफका सुरुवातमा नै १० खेलाडीमा झर्न पुग्यो। उसका डिफेन्डर डेविड लुइज विपक्षीलाई फल गरेपछि रातोकार्ड पाउँदै मैदानबाट बाहिरीए। जसका कारण पेप ग्वार्डियोलाको टिम सिटीले ५१ औं मिनेटमा पेनाल्टीबाट गोल अन्तर दुई शुन्यमा पुर्यायो । त्यसपछि खेलको इन्जुरी समयको पहिलो मिनेटमा सिटीले तेस्रो गोल थप्यो ।
सिटीका लागि फोडेनले गोल गरे। जितसँगै सिटीले २९ खेलमा ६० अंक बनाएको छ। नवौं स्थानमा रहेको आर्सनलको ४० अंक छ। त्यस्तै गएराति नै भएको पहिलो खेलामा एस्टन भिल्ला र सेफिल्ड युनाइटेडले गोलरहित बराबरी खेले।
