काटमाडौं, ४ असार–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न सरकारले १० अर्ब खर्च कहाँ कहाँ गरेको छ हिसाब चाहियो भन्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई जवाफ दिएका छन्। आजको राष्ट्रियसभा बैठकमा सांसदहरुको जवाफ दिँदै उनले स्थानीय तहमा क्वारेन्टाइन बनाउन खर्च भएको पनि बताए।
‘क्वारेन्टाइन बनेको छ, बस्नेहरुलाई खुवाएका छन, जनप्रतिनिधिहरुले पैसा खाए भन्दिन सजिलो छ। बहुतै दुख गरेर काम गरेका छन। त्यसमा गुन गर्नुको सट्टा, प्रशंसा गर्नुको सट्टा, कदर गर्नुको सट्टा अपमान गनएु सन्देह पैदा गर्नु, उपयुक्त हुँदैन,’ उनले भने, ‘म सबैलाई आग्रह गर्न चाहन्छु ।
१० अरब भन्दा केही विभिन्न निकायमा पठाइएको छ। त्यसको मसिनो गरी हिसाबकिताब आलेप, मलेपमा आउँछ। मान्छे काममा लागेका छन यहाँ कसैलाई चाहिँ हिसाब चाहिएको छ। काममा ध्यान छैन। कामप्रतिको गम्भिर्यता छैन। हिसाबकिताब दैनिक चाहिएको छ।’ उनले कोरोना नियन्त्रणमा खर्चेको रकमको मात्र नभई सरकारले बजेट प्रस्तुत गर्दाको १४ खर्बको सम्पूर्ण हिसाबकिताब संसदमा आउने पनि बताए। उनले भने, ‘यो मात्रै हैन १४ खर्बको बजेटको सम्पूर्ण हिसाबकिताब सदनमा आउँछ।’ उनले मान्छेले आफू बाहेक सबै भ्रष्ट सोचेको र सरकारमा रहेकाको चरित्र हत्या गर्नैपर्छ भन्ने सोचेको पनि आरोप लगाए।
‘मान्छेले म बाहेक सबै भ्रष्ट छन। अर्को यस्तो पनि ठान्नु भएन यस देशमा भ्रष्टबाहेक कोही जन्मँदै जन्मेन। अर्को यस्तो पनि ठान्नु भएन सरकारमा ओहोदामा बसेकाहरुलाई जसरी पनि बदनाम गर्नुपर्छ जसरी पनि चरित्र हत्या गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने।
