दमक, १९ माघ–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा स्थापना भएको सौजन्य बचत तथा ऋण सहकारी संस्थाले भोली (मंगलबार) आँखा शिविर र खुल्ला रक्तदान कार्यक्रमको तयारी गरेको छ । संस्थाले आफ्नो औपचारिक उद्घाटनको अवसर पारेर संस्थाका शेयर सदस्य, कर्मचारी, शुभेच्छुक र स्थानीयवासीलाई सेवा दिने उदेश्यले आँखा शिविर र रक्तदान कार्यक्रम गर्ने भएको हो ।
संस्थाले २० माघ, मंगलबार बिहान मंगलबारे बजारमा औपचारिक समुद्घाटन गर्ने भएको छ । हालै, मंगलबारेमा कार्यालय स्थापना गरेर बित्तिय कारोबार सञ्चालन गरि आएको सहकारी संस्थाले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को कारणले समुद्घाटन गर्न सकेको थिएन ।
संस्थाका अध्यक्ष मकर नेम्बाङले संस्थाको समुद्घाटन कार्यक्रममा धेरै अतिथिहरु बोलाएर झकीझकाउ नगरेर आँखा सम्बन्धी स्वास्थ्य शिविर र खुल्ला रक्तदान कार्यक्रम गरिने भएको बताउनुभयो । अध्यक्ष नेम्बाङका अनुसार शिविर र रक्तदानमा सहभागिहरुलाई अनिबार्य मास्क र भौतिक दुरीसहित कार्यक्रम गरिने छ ।
संस्थाका उपाध्यक्ष कृष्ण तामाङका अनुसार दमकस्थित बिर्ता ज्योति आई केयरको स्वास्थ्यकर्मीहरुद्धारा आँखा शिविर हुने र दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ ।
शिविर र रक्तदानलाई बृहत ढंङ्गमा सम्पन्न गर्न संस्थाद्धारा उपसमिति गठन गरेर जिम्मेवारी प्रदान गरिएको उपाध्यक्ष तामाङले बताउनुभयो ।
