काठमाडौं, १९ माघ–प्रायजसो कार्यक्रममा पत्रकारहरुप्रति असन्तुष्टि व्यक्त गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) धनुषास्थित विद्युत सवस्टेशन उद्घाटन कार्यक्रममा पनि पत्रकारहरुप्रति आक्रोश व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्ना बिभिन्न गतिबिधिबारे आलोचना गर्ने पत्रकारलाई हलो नजोतेर किन पत्रकारिता गरेको भनी प्रश्न गरेका छन् । ‘तपाईंका बुबा हलो जोत्नु हुन्थ्यो, तपाईं किन पत्रकारिता गर्नुहुन्छ, किन विद्वान बन्नु हुन्छ, किन परम्परा भत्काउनु हुन्छ रु बुबा त हलो जोत्नु हुन्थ्यो ।’
आफूले पशुपतिनाथ मन्दिरमा १०१ किलोको सुनको जलारी हाल्दा पनि परम्पराविरोधी काम गरेको भनी आलोचना गरिएको भन्दै उनले भोलि यो सवस्टेशन उद्घाटन गरिएको कार्यक्रमको पनि केहि मिडियामा नकारात्मक समाचार आउने उनले बताए ।
‘हिन्दूहरुको आरध्यदेव जस्तो पवित्रस्थलमा चाँदीको जलारीको ठाउँमा सुनको जलारी राख्दा पनि परम्परा बिग्रियो भनेर आलोचना गरियो,’ उनले भने । परम्परा बिग्रियो भन्नेहरुले आफूहरु चाहिँ किन बाउबाजेले गरेको परम्पराअनुसार हलो नजोतेर पत्रकार, विद्वान बन्नु परेको भन्दै उनले प्रश्न गरे । उनले भने, ‘मेरो बुवाले पनि हलो जोत्नु हुन्थ्यो, प्रधानमन्त्री हुनुहुन्थेन तर, म राम्रोका लागि परम्परा भत्काएर प्रधानमन्त्री बनें ।’
