काठमाडौं, २० माघ–’पार्टीको आधिकारिकता कसैलाई पनि नदिने, निर्वाचन चिह्न कसैलाई नदिने फ्रिज गरिदिने खालका षड्यन्त्र भइरहेको छ,’ सोमबारको केन्द्रीय कमिटी बैठकमा नेकपाका अध्यक्ष माधवकुमार नेपालले भनेका थिए ।
नेकपाको आधिकारिकता दाबी गरिरहेको समूहका अध्यक्षले गरेको आशंकाले तरंग पैदा भएको छ । सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल र केपी शर्मा ओली समूह दुवैले आफू आधिकारिक भएको दाबी गरिरहेका छन् ।
दुवै पक्षले सूर्य चिह्न आफ्नो समूहले पाउने जिकिर गरिरहेका छन् । तर, निर्वाचन आयोगले कुनै पक्ष आधिकारिकता दाबी नै नआएको तर्क गर्दै आइरहेको छ । आयोगले पदाधिकारी हेरफेर र केन्द्रीय कमिटीको बैठकका निर्णय विधानसम्मत नदेखिएको भन्दै अभिलेखीकरण गर्न अस्वीकार गरिसकेको छ । प्रचण्ड-नेपाल समूह आधिकारिता दाबी गर्न आयोग जाने तयारीमा छ । सोमबार बसेको केन्द्रीय कमिटी बैठकले आधिकारिकता दाबी गर्ने निर्णय गरेको छ ।
के निर्वाचन आयोगले नेकपा र सूर्य चिह्न फ्रिज गर्ने तयारीमा हो ?
आयोग स्रोतले सूर्य चिह्न फ्रिज गर्नुपर्ने अवस्था आउन लागेको स्वीकार गरेको छ । ‘दुवै समूहलाई आधिकारिकता नदिने र सूर्य चिह्न पनि नदिने बाध्यात्मक अवस्था आउने देखिसकेको छ । इतिहासमै नेकपा र सूर्य चिह्न भएको पार्टीलाई सिध्याउने टोली भनेर कलंकको टीका लगाउने रहर पनि छैन,’ आयोगका एक अधिकारीले बाह्रखरीसँगको कुराकानीमा भने ।
विवादका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग केही दिनमा छलफल गर्ने ती अधिकारीको भनाइ छ । ‘हामीले नेकपा आधिकारिक नै हो तर दुवै अध्यक्ष र आधिकारिक हो भनिसकेका छौं । तर, त्यसले समाधान दिएन । हामी छलफलमा नै छौं । केही दिनमा दुई अध्यक्षलाई नै बोलाएर छलफल गर्छौं,’ ती अधिकारीले भने ।
नेकपाको विवाद नै नमिलेको अवस्थामा आयोगले उक्त निर्णय गर्न सक्ने स्रोत बताउँछ । ‘आयोगले पार्टी एकताका बेलामा भएको दुई अध्यक्षको हस्ताक्षर चाहियो भन्ने लम्ब्याउने । अब दुई अध्यक्षको त हस्ताक्षर सम्भव नै छैन । त्यो अवस्थामा चुनाव चिह्न नदिने भन्ने खालको कुरा हुन सक्ला । दुई अध्यक्ष मिल्ने अवस्था भए त यस्तो अवस्था आउने थिएन नि,’ स्रोतले भन्यो ।
आयोग जान अलमल
यसअघि नेकपाका दुवै समूहले राजनीतिक दलसम्बन्धी दफा ५१ अनुसार पदाधिकारी हेरफेरलगायतको निर्णयबारे जानकारी गराएको थियो । तर, निर्णय मान्न आयोगले अस्वीकार गरिसकेको छ ।
ऐनको दफा ४४ अनुसार आधिकारिकता दाबी गर्नुपर्ने आयोगको भनाइ छ । ओली समूहका नेताहरु आफूहरुले आधिकारिकता पाइसकेकाले दाबी गर्न जानुनपर्ने बताउँदै आएका छन् । प्रचण्ड-नेपाल समूहले दाबी गर्नका लागि आयोगमा जाने निर्णय गरे पनि कहिले र कसरी जाने टुंगो लगाइसकेको छैन । ‘हामी पार्टीमा छलफल गरिरहेका छौं । कहिले र कुन हिसाबले जाने भन्ने टुंगो लागिसकेको छैन,’ प्रचण्ड-नेपाल समूहका एक नेताले भने ।
