काठमाडौं, २१ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमुक्ति सेनाको ‘विशेष पार्टी कमिटी’ बनाउने घोषणा गरेका छन् ।
आज (बुधबार) राजधानीमा आयोजित बहिर्गमित जनमुक्ति सेना नेपालको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बहिर्गमित, स्वेच्छिक अवकाश लिएकासहित सबै पूर्व जनमुक्ति सेनाहरुलाई समेटेर विशेष पार्टी कमिटी बनाउने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले पहिलो पटक आफू प्रधानमन्त्री हुँदा घाइते, अपांगता भएका जनमुक्ति सेनालाई राहत प्याकेज ल्याएको समेत बताएका छन् । नेपालको राजनीतिक परिवर्तनमा जनमुक्ति सेनाको योगदान उच्च रहेको बताउँदै उनले पूर्व जनमुक्ति सेनालाई लिएर आफू एकदमै चिन्तित रहेको बताएका छन् ।
उनले प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई, जनयुद्धलाई १०-२० लाख रुपैंयाँ पैसामा किन्ने प्रयासमा रहेको बताउँदै यसमा सचेत हुनुपर्ने बताए । माओवादीको नाम नै सुन्न नचाहने ओलीले पूर्व जनमुक्ति सेनालाई माया गरेको नभई खरिद-बिक्री गरी सिध्याउने खेल खेलेको पनि बताएका छन् ।
प्रचण्डले पूर्व लडाकूहरुलाई आफूले केन्द्रमा स्थापित गरेको बताए । जनमुक्ति सेनाका कमाण्डर नन्दबहादुर पुनलाई उपराष्ट्रपति बनाउनुका साथै थुप्रै कमाण्डरहरु केन्द्र तथा प्रदेशमा मन्त्री तथा सभामुख बनाउन भूमिका खेलेको उनको भनाइ थियो ।
सबैलाई पार्टी कमिटीमा समायोजन गर्न नीतिगत निर्णय पनि गरेको भन्दै प्रचण्डले भने, ‘कार्यान्वयन भयो कि भएन भनेर हेरिएन । त्यहाँ गल्ती भयो ।’ उनले अघि भने, ‘केन्द्रीय भूमिकामा गल्ती गरे जस्तो लाग्दैन तर तलसम्म पार्टी कमिटीमा उचित जिम्मेवारी दिएर सम्मानजनक रुपमा समाजमा स्थापित गर्न सकिनँ ।’
