दमक, २२ माघ–मुखमा क्यान्सर संक्रमण भएपछि झापा, कमल-६ की ४४ बर्षिया राधादेवी साहले आफनो जीवन बचाईदिन आग्रह गरेकी छिन् । दुई वर्षअघि जिव्रोमा मासु पलाएपछि विस्तारै मुखै भरि फैलिन थालेको र आफूसंग उपचार गर्ने पर्याप्त रकम नहुदाँ रोग पालेर बस्न बाँध्य हुनुपरेको पीडित साहले वताईन् ।
मोरङको रतुवामाई–३ घर भएपनि एक दशकदेखि साह परिवार कमल–६ को एक घरमा बस्दैआएका छन् । अत्यन्त नाजुक आर्थिक अवस्था भएका विरामीको शल्यक्रिया गर्नका लागि डाक्टरले रु ३ लाख बढी रकम लाग्ने वताएको र त्यतिका रकम जुटाउन नसक्दा लामो समयदेखि रोग पालेर बस्न बाँध्य हुनुपरेको उनका श्रीमान मंगलचन्द्र साहले वताए ।
उनका अनुसार दमक तथा धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दा हालसम्म ऋण गरि ल्याएको रु २ लाख बढी रकम खर्च भईसकेको छ । थप उपचार गर्नका लागि आफूसंग त्यतिका रकम नभएपछि सवैसंग सहयोगका लागि गुहार माग्नु परेको उनले वताएका छन् ।
दैनिक जनमन गरि आएका साहका तीन छोरा र दुई छोरी छन् । पीडित साह परिवारले विरामी राधादेवीको जीवन बचाई दिन सवैसंग सक्दो सहयोगको याचना गरेका छन् ।
यसैवीच, पीडित राधादेवीको उपचारमा यथासक्य आर्थिक सहयोग जुटाईदिन स्थानीय सामाजिक अगुवा कृष्णप्रसाद भण्डारीले समेत आग्रह गरेका छन् ।
सामाजिक अगुवा भण्डारीले भने,-‘जीवनमरणको दोसाधमा पुगेकी विरामीको अवस्था जटिल वन्दै गएको छ, हाम्रो सानो सहयोगले उनलाई वचाउन सकिन्छ ’पीडितको उपचारमा सहयोग गर्न चाहनेले सोझै विरामीको श्रीमानको मोवाइल ९८१६९०५४१३ मा समेत सम्पर्क गर्न सकिने जनाईएको छ ।
