काठमाडौं, १२ फागुन–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाबारे दलहरुसँग परामर्श चलिरहेको जानकारी दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) बसेको स्थायी कमिटी बैठकपछि परराष्ट्र मन्त्री समेत रहेका ज्ञवालीले मुलुकलाई अन्यौलमा राख्ने चाहना आफूहरुको समेत नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘प्रधानमन्त्रीको राजीनामाबारे दलहरुसँग परामर्शमा छौँ, मुलुक अन्यौलमा राख्ने पक्षमा हामी पनि छैनौं ।’
स्थायी समितको बैठकले सर्वोच्चको फैसला र त्यसले पार्ने प्रभावका बारेमा छलफल भएको उनले जानकारी दिएका छन् । सरकारले अदालतले तोकेको मिति भित्रै प्रतिनिधि सभा बैठकको आह्वान गर्ने उनले बताए ।
उनले सर्वोच्चको फैसला अनेपक्षित भए पनि त्यसको सम्मान र कार्यान्वय गर्ने बताए । उनले फैसलाले अस्थिरता र असैद्धान्तिक गठबन्धनको निर्माण हुने हुन कि भन्ने चिन्ता बढाएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेसँगै अहिले प्रधानमन्त्री तत्काल पदबाट राजीनामा दिनु पर्ने माग र दवाव बढेको छ ।
अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ज्ञवालीले बताएका छन् । ‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ’, ज्ञवालीले भने ।
त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उनले बताए । सर्वोच्च अदालतले मंगलबार संसद् विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ । राजधानीमा उपलब्ध स्थायी कमिटी बैठकले चार वटा निर्णय गरेको ज्ञवालीले बताए । उनका अनुसार, अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।
यो फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको उनले बताए । ‘समग्र परिस्थितिको छलफल गर्न केन्द्रीय कमिटी बैठक र दलको बैठक छिटै बोलाइनेछ’, ज्ञवालीले भने ।
